नेकपा एमालेका नेता घनश्याम भूसालले निर्वाचन आयोगमा दर्ता गर्न लागिएको नयाँ राजनीतिक दलको बारेमा आफूलाई जानकारी नभएको बताएका छन्।
माधवकुमार नेपालनिकट युवानेताले नयाँ कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन दिएपछि सो विषय चर्चामा आएको छ।
भूसालले भने त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।
तर उनले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राति प्रनिधिसभा विघटन गरेको विषयमा आफ्नो विरोध रहेको बताए।
‘नयाँ पार्टीको बारेमा थाहा छैन,’ भूसालले नेपालखबरसँग भने, ‘तर प्रतिनिधिसभा विघटन विरुद्धको संघर्षमा छु।’
त्यसअघि संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकारको नेतृत्वमा कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले दाबी गरेकोमा दुवैका दाबीको आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रक्रिया रद्द गरेकी थिइन्।
त्यसविरुद्ध विपक्षी दलका नेता शेरबहादुर देउवासहित १ सय ४९ जना सांसद अदालतमा जान लागेका छन्।
देउवाको पक्षमा स्पष्ट बहुमत हुने १ सय ४९ जनाको सांसद हुँदाहुँदै राष्ट्रपतिले उनलाई प्रधानमन्त्री पदमा नियक्त नगरेको भनी उनीहरु अदालत जान लागेका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल समूहका एमाले सांसदहरुले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन्।
देउवाको समर्थनमा रहेका सांसदहरु आफ्नो हस्ताक्षर र नागरिकतासहित अदालतमा निवेदन दिन सिंहदरबारमा भेला भएका छन्।

प्रतिक्रिया