ad ad

राजनीति


एमाले कार्यदलमा ओली पक्षको शर्त– देउवाका लागि गरेको हस्ताक्षर फिर्ता गर्नुस्

एमाले कार्यदलमा ओली पक्षको शर्त– देउवाका लागि गरेको हस्ताक्षर फिर्ता गर्नुस्

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:४३,

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलमा पार्टीको दुवै पक्षले फरक फरक अडान राखेपछि शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको छ।

अर्को बैठकको मितिसमेत नतोकिएका कारण अनिश्चितकालसम्मका लागि बैठक स्थगितत भएको छ।

सिंहदरबारमा बसेको कार्यदलको दोस्रो बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ‌ओली पक्षका सदस्यहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर सार्वजनिक रुपमा फिर्ता लिन माधव नेपाल पक्षका नेताहरुसँग आग्रह गरेका थिए।

उनीहरुले सो हस्ताक्षर फिर्ता लिएपछि मात्र अन्य विषयमा छलफल गर्ने बताएका थिए।

‘कार्यदलका सदस्यहरुले प्रधानमन्त्री दाबी गर्ने विषयमा तपाईहरुले देउवाको पक्षमा हस्ताक्षर गर्नु भएको छ, त्यसलाई सार्वजनिक रुपमा फिर्ता लिऔं र त्यसपछि प्रतिनिधिसभालाई जोगाउँ भन्ने कुरा गर्नुभयो,’ कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक रहेका भीम रावलले नेपालखबरसँग भने।

बैठकमा नेपाल पक्षले प्रधानमन्त्री ओलीले पार्टीसँग परामर्श नगरिकनै धारा ७६(५) अनुसार सरकार गठनका गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने जुन प्रस्ताव गरेका छन् त्यो फिर्ता लिनुपर्ने अडान राखेका थिए।

‘प्रधानमन्त्रीजीले पनि पार्टीमा परामर्श र छलफल नगरी उहाँले ३० दिनको समय हुँदाहुँदै जुन रुपमा संविधानको धारा ७६(४) को व्यवस्थालाई बेवास्ता गरेर जुन काम गर्नुभयो त्यो प्रस्ताव पनि फिर्ता लिनुपर्छ, त्यो फिर्ता लिएमा हामी पनि प्रस्ताव फिर्ता लिने विषयमा सोच्छौं,’ रावलले भने ‘अनि प्रतिनिधि सभालाई कायम राखौं भनेर भन्यौं। त्यो भनेपछि सहमति भएन।’

त्यसपछि सोहि विषयमा कुरा अड्केपछि आपसी परामर्शबाट अर्को बैठक तय गर्ने भनी छलफल टुंगिएको थियो।

कार्यदलमा यसअघि सहमति भएअनुसारको कार्यदलको कार्यविधि, कार्यक्षेत्र र आचारसंहिताको मस्यौदा आदानप्रदानन गर्ने विषयमा ओली पक्षले प्रवेश गर्नै नचाहेको उनले बताए।

‘दुई दिनअघि कार्यविधि, कार्यक्षेत्र र आचार संहिता मस्यौदा तयार पारेर आदान प्रदान गर्ने सहमति भएको थियो,’ रावलले भने, ‘त्यसको जिम्मेवारी मलाई नै दिइएको थियो र त्यसमा छलफल गर्ने भनेका थियौं। त्यस विषयमा उहाँहरु प्रवेश गर्नु भएन।’

एमालेमा देखिएको आन्तरिक विवाद समाधानका उपाय पहिल्याउन अध्यक्ष ओली र माधवकुमार नेपालबीच भएको सहमतिअनुसार १० सदस्यीय कार्यदल गठन भएको हो।

कार्यदलमा प्रधानमन्त्री ओलीको तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ संयोजक रहेका छन् भने विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन्।

नेपालको तर्फबाट रावल संयोजक छन् भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .