जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्त गर्न गरेको प्रस्तावमा जालझेल गरेर टार्न खोजे प्रतिवाद गर्नुपर्ने बताएका छन्।
बहुमत सांसदहरुको हस्ताक्षर लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र माधवकुमार नेपाल पक्ष राष्ट्रपति शीतल निवासमा दर्ता गरी फर्केपछि डा. भट्टराईले ट्वीट गर्दै सो टिप्पणी गरेका हुन्।
‘धारा ७६ (५) वमोजिम १ सय ४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु÷जालझेल गरी टार्ने ठाउँ छैन,’ डा. भट्टराईले भनेका छन्, ‘खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आमजनता र सचेत नागरिकले यथोचित खबरदारी-प्रतिवाद गर्नुपर्छ है।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विश्वासको मत लिने आधार नदेखिएको भन्दै ७६ (५) अनुसारको सरकार बनाउन अनुरोध गरेपछि राष्ट्रपतिले २१ घण्टाको समय दिएर आह्वान गरेकी थिइन।
उनले दिएको समयसीमा अहिले ५ बजेसम्म सकिएको छ। यस अवधिमा केपी शर्मा ओलीले १ सय ५३ सांसदको समर्थन रहेको दाबी गरेका छन्।
उता विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षर नै लगेर प्रधानमन्त्रीमा बहुमत रहेको दाबी दर्ता गराएका छन्।
प्रतिक्रिया