राजनीति


सरकारले कोरोना नियन्त्रणको तयारी गर्न सकेन : मोर्चा

सरकारले कोरोना नियन्त्रणको तयारी गर्न सकेन : मोर्चा

नेपालखबर
जेठ ५, २०७८ बुधबार ११:२,

देशभक्त जनगणतन्त्रिक मोर्चाले सरकारले कोरोना नियन्त्रणको तयारी गर्न नसकेको आरोप लगाएको छ।

मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी निकट मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै गत साल कोरोना अचानक आएको वहाना भए पनि दोस्रो लहर आउने सम्भावना जानकारी हुँदा हुँदै सरकारले महामारीबाट बच्ने, बचाउने तयारी नगरिकन बस्नुलाई सामान्यरुपमा लिन नमिल्ने बताएको छ।

'महामारीको उपचारको जिम्मा सरकारले नै लिन्छ भन्ने प्रधानमन्त्रीको घोषणालाई अक्सिजन नपाएर, अस्पतालमा सिट नपाएर बिरामीहरुले मृत्युवरण गर्नुपरेका सैकडौं उदाहरणले खिल्ली उडाउनुका साथै जनताले सरकारलाई धिक्कारिरहेका छन्', विज्ञप्तिमा भनिएको छ।

लामो समयदेखिको निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर बाँच्दै आएका श्रमिक भोकभोकै मर्ने अवस्था आउँदा सरकारले ध्यान नदिएको मोर्चाको आरोप छ।

'यो महामारीको निदान खोप नै हो भन्ने पुष्टि भइसकेको छ। तर, पहिलोपटक खोप लगाएकाहरु दोस्रो खोप नपाइने आशङ्कामा छट्पटाइरहेका छन्। ठीक यसै बेला सत्तापक्ष र संसदीय प्रतिपक्षी पार्टीका नेताहरु सत्ताको खेलमा रमाइरहेका छन्। मानवजीवनको रक्षा सबैका लागि सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने विषय हुनै पर्दछ। यसबाट दायाँ–बायाँ गर्ने छुट कसैलाई छैन', जारी विज्ञप्तिमा भनिएको छ।

समाजसेवी व्यक्ति र संस्था बिरामीको उपचार र भोकाएकाहरुलाई खाना खुवाउने काममा लागिरहेका प्रति मोर्चाले सम्मान व्यक्त गरेको छ। उनीहरुसँग मिलेर यसलाई निरन्तरता दिने पनि मोर्चाले जनाएको छ।

अक्सिजन, आईसीयू र भेन्टिलेटरसहित अस्पतालमा सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न कुनै पनि बहानामा ढिलाइ नगर्न चेतावनीसमेत दिएकोछ।

दोस्रो चरणको भ्याक्सिन निर्धारित समयमा लगाउने व्यवस्था गर्न पनि उसले भनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .