निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनमा केहि व्यक्तिहरुले आचार संहिता उल्लंघन गरेको भनी आपत्ति जनाएको छ।
राष्ट्रिय सभाको रिक्त एक सिटका लागि भोलि बिहीबार हुन लागेको निर्वाचनका लागि आयोगले जेठ ३ गते राती १२ बजेपछि मौन अवधि सुरु भईसकेको जनाएको छ।
तर त्यसविपरित केहि व्यक्तिहरुले प्रचार प्रसार जारी राखेको भनी आयोगले आपत्ति जनाएको छ।
तर, कसले उल्लंघन गरेको भन्ने भने आयोगले प्रष्ट्याएको छैन।
आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनको पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापालाई मत दिन भनी सार्वजनिक अपिल जारी गरेको केहि बेरमा आयोगले विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिप्रति आपत्ति जनाएको हो।
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो दुई पृष्ठ लामो वक्तव्य जारी गर्दै थापालाई मतदान गर्न एमाले मतदाताहरुलाई निर्देशन दिएका थिए।
उनले मतदाताहरुबाट सो निर्देशनको उल्लंघन गरेमा क्षम्य नहुने बताएका छन्।
यो पनिः रामबहादुर थापालाई मत दिन एमाले सांसदलाई निर्देशन दिँदै ओलीले भने– नदिए क्षम्य हुँदैन (वक्तव्य)
प्रधानमन्त्री ओलीको सो वक्तव्यलाई प्रधानमन्त्री कार्यालयको सचिवालयमा रहेका र अन्य उनीनिकट नेता कार्यकर्ताहरुले व्यापक प्रचार प्रसार गरेका छन्।
‘एकातर्फ आयोगले निर्वाचन आचारसंहित कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफै आचार संहिता विपरितका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया