राजनीति


यसरी सम्भव भयो जसपामा सहमति, राजदूत नियुक्तिले ओलीसँग झस्किए महन्थ

यसरी सम्भव भयो जसपामा सहमति, राजदूत नियुक्तिले ओलीसँग झस्किए महन्थ

प्रशान्त लामिछाने
जेठ ४, २०७८ मंगलबार १४:१७,

विभाजनको नजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद मंगलबार बिहानबाट साम्य हुने संकेत देखिएको छ।

एकले अर्कोलाई स्वीकार गर्न नसकिरहेका अध्यक्षद्वय महन्थ ठाकुर उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै भने, 'पार्टीमा कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने, पार्टी नेताहरुका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरुलाई अन्त्य गरी पार्टीलाई एकतावद्ध राख्नुपर्छ।'

तीन दिनअघि शनिबार मात्र उपेन्द्र-बाबुराम भट्टराई पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकप्रति ठाकुर पक्षले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो।

त्यही दिन उपेन्द्र यादवले राजेन्द्र महतोलाई बहुमतले संसदीय दलको नेता चयन गरेको विषय सत्य नभएको भन्दै वक्तव्य निकालेका थिए। एक अर्काबीच वक्तव्य-जुहारी चलिरहेको बेला मंगलबार जसपाभित्र एकताको अंकुर टुसाएको हो।

त्यसो त शनिबार बसेको उपेन्द्र-बाबुराम पक्षको बैठकले सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो।

यही तीन दिनमा विकास भएका घटनाक्रमले पुन: नेताहरुलाई सहमतिनजिक ल्याएको बताउँछन् जसपा केन्द्रीय सदस्य विश्वदीप पाण्डे।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेसँगै जसपा पनि त्यसको विरोधमा सडकमा आयो। तर, सर्वोच्च अदालतबाट संसद् पुन:स्थापना हुँदासम्म पार्टीभित्र सरकारलाई हेर्ने दृष्टिकोणमा दुई धार आइसकेको थियो। ओलीले संसदमा वैशाख २७ गते मागेको विश्वासको मतमा त्यो प्रस्टरुपमा देखियो।

ठाकुर पक्ष तटस्थ बस्यो भने उपेन्द्र-बाबुराम पक्षले विपक्षमा मतदान गरे। बहुमतको सरकार बनाउने समयमा ठाकुर पक्षको असहयोग रह्यो।

आइतबारको त्यो भेट
आइतबार मध्यान्ह बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाका तीन शीर्ष नेताको भेट भयो। भेट र संवाद टुटिसकेको अवस्थामा ठाकुर, यादव र भट्टराईबीच करिब २ घण्टा लामो छलफल भए पनि निचोड निस्किएन।

तर त्यो भेटले सहमतिका लागि नेताहरुलाई लचिलो बनाएको बताउँछन् जसपा नेता इस्तियाक राई।

आइतबारको भेटपछि आफू पक्षका नेताहरुसँग छलफल गर्ने भन्दै ठाकुर उठेका थिए।

आइतरबार नै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुन: ठाकुरसँग छलफल गरेको स्रोत बताउँछ।

भट्टराईले ठाकुरसँग मात्र नभई सोही दिन अध्यक्ष यादव र केही दोस्रो पुस्ताका नेताहरुसँग पनि छलफल गरेका थिए।

ती सबै छलफलबाट अरुको सरकार जोगाउन आफूहरु फुट्न नहुने निचोड निकालियो। दोस्रो पुस्ताका नेताहरुले सहमतिका लागि दबाब दिन सुरु गरेका थिए।

अनि झस्किए महन्थ
केपी ओली सरकारप्रति नरम देखिँदै आएका ठाकुर त्यतिबेला झस्किए, जब मन्त्रिपरिषदले ११ देशमा राजदूत नियुक्ति सिफारिस गर्‍यो।

'सरकारलाई सहयोग गरेका कारण केही नियुक्तिहरुमा अपेक्षा हुनु स्वभाविक हो,' उनी निकट एक नेताले भने, 'तर राजदूतजस्तो महत्वपूर्ण पदमा सिफारिस गर्दा हामीसँग कुनै सल्लाह भएन।'

मधेस आन्दोलनका जटिल मुद्दा फिर्ता पनि नभइराखेको, जेलमा रहेका रेशम चौधरीको विषयमा पनि ठोस बचन नपाएकोमा ठाकुरको मनमा चिसो पसिरहेकै बेला राजदूत सिफारिस भएपछि उनले त्यसलाई गम्भीररुपमा लिएको ती नेता बताउँछन्।

यता दोस्रो पुस्ताका नेताहरु इस्तियाक राई, गंगा श्रेष्ठ, प्रशान्त सिंह, मनिष सुमन लगायतले सहमतिका लागि सक्रिय भूमिका खेलेका थिए।

अर्का नेता राजकिशोर यादवले दोस्रो पुस्तालाई एक ठाउँ ल्याएर नेताहरुलाई 'भाग्न दिन नहुने' भन्दै छलफल अघि बढाएका थिए। स्रोतका अनुसार विश्वासको मतका लागि बोलाइएको संसद् अधिवेशनअघि नै उनले ठाकुर र अशोक राईलाई भेटाएर सहमतिको प्रयास गरेका थिए। यो बीचमा उनले ठाकुर, यादव र भट्टराईसँग पनि छलफल गरेका थिए।

तर यहीबीचमा उनका पिताको निधन भएपछि उनी सक्रिय हुन पाएनन्।

ठाकुर र यादवले मंगलबार तत्काल सरकारमा नजाने सहमति पनि गरेका छन्। तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था भए त्यसका लागि अघि बढ्ने भन्नुको अर्थ ७६ (५) अनुसार सरकार बनाउने गृहकार्य सुरु गरिएको अनुमान पनि सुरु भएको छ।

यसअघि नै डा. भट्टराईले पूर्वप्रधानमन्त्री बाहेकबाट प्रधानमन्त्रीको विकल्प खोज्ने प्रस्ताव ल्याउनु र जसपामा नयाँ सहमति निर्माण हुनु अर्थपूर्ण देखिन्छ।

प्रधानमन्त्री ओलीले केही दिनभित्र संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपामा सहमति देखिएको हो। तत्काल विश्वासको मत दिने अवस्था नभएको  ठाकुर पक्षका सांसद प्रमोद साह बताउँछन्।

जेठ ७ र ८ गते बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीलाई थप एकतामा लैजाने बताउँछन् जसपा नेता मनिष सुमन।

'बैठक बसेपछि छलफल हुन्छ र निचोड निस्कन्छ', उनले भने, 'त्यो बैठकले भावी रणनीति तय गर्नेछ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .