नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग भएको सहमति पालना हुनेमा शंका व्यक्त गरेका छन्।
नेपाल पक्षीय सांसदहरुले राजीनामा दिने तरखर गरिरहेका बेला बिहीबार ओली र नेपालबीच सहमति भएको थियो।
तर, नेपाल निकटका केन्द्रीय सदस्यहरुको भर्चुअल छलफलमा सहभागी भएका नेताहरुले ओलीलाई पत्याउन नसकिने बताए।
ओलीले विगतमा पनि अफ्ठ्यारोमा पर्दा सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गरेको उनीहरुको भनाइ थियो।
‘माधव कमरेडले अध्यक्ष ओली जेठ २ मा जान सहमत भएपछि मिलेर जाने सहमति भएको जानकारी गराउनु भएको थियो,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘तर प्रधानमन्त्रीको कथनी र करणीमा अन्तर हुने गर्छ भन्दै अझै पनि केन्द्रीय सदस्यहरुमा सहमति कार्यान्वयन हुन्छ भन्ने विश्वास देखिँदैन।’
बैठकमा सहभागी नेताहरु नयाँ दल बनाएर जाने कि सहमतिका लागि अझै प्रयास गर्ने भन्ने विषयमा विभाजित रहेको अर्का केन्द्रीय सदस्यले बताए।
‘कतिपय साथीले अझै पनि अध्यक्षले सहमति कार्यान्वयन गर्नुहुन्छ भन्नेमा विश्वस्त हुन नसकेको बताउनु भयो,’ ती केन्द्रीय सदस्यले भने, ‘अर्काथरी नेताहरुले चैतमा भएको कार्यकर्ता भेलामा पनि नयाँ दल खोल्ने नभई पार्टीभित्रको खराब प्रवृत्तिविरद्ध संघर्ष गर्दै जाने भन्ने निष्कर्ष भएकाले सहमतिमै जोड दिनुपर्ने बताउनु भएको थियो।’
भर्चुअल छलफलमा प्रदेशिक रुपमा नेताहरुले आफ्नो धारणा राखेका थिए। घनेन्द्र बस्नेत, राजेन्द्र राई, महेश रेग्मी, जीवन घिमिरे, नागेन्द्र चौधरी, श्रीप्रसाद साह, रचना खड्का, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर, माधव अर्याल, चुडामणि जंगली, शारदा सुवेदी, ठाकुर गैरे, प्रकाश ज्वाला, भानुभक्त जैसीसहितले धारणा राखेका थिए।
केन्द्रीय सदस्यहरुको छलफलमै नेता नेपालले आज ओली पक्षका नेताहरुसँग सामुहिक रुपमा कार्यदलको मोडालिटीको विषयमा छलफल हुने जानकारी गराएका थिए। नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छलफलमा सहभागी भएका छन्।
अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बुढानीलकण्ठ चपली हाइटस्थित एक व्यापारीको निवासमा करिब ४ घण्टा छलफल भएको थियो। सोलगत्तै नेता नेपालले हाललाई सांसदहरुको सामूहिक राजीनामा केही दिनलाई टरेको बताएका थिए।
Shares
प्रतिक्रिया