राजनीति


कांग्रेसको निष्कर्ष– सभापति देउवालाई प्रधानमन्त्री बन्न बहुमत पुगेन

कांग्रेसको निष्कर्ष– सभापति देउवालाई प्रधानमन्त्री बन्न बहुमत पुगेन

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १३:३९,

नेपाली कांग्रेसले बहुमतको सरकार गठन गर्न नसक्ने निष्कर्ष निकालेको छ।

बिहीबार आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले एमालेको एउटा पक्षबाट आउने भनेको राजीनामा नआएपछि बहुमतको सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको सहमहामन्त्री सुनिलबहादुर थापाले नेपालखबरलाई जानकारी दिए।

बैठकमा सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठन गर्ने संभावना सकिएको संकेत पाएको बताएका थिए।

‘माधव नेपाल पक्षबाट राजीनामा आएन, जसपा विभाजित रहेकोले बहुमत पुग्ने संभावना छैन,’ देउवाले बैठकमा राखेको धारणा उद्धृत गर्दै थापाले भने, ‘अब ७६ (२) अनुसार हामीले बहुमत दाबी गरेर जान सक्तैनौं। सरकार बनाउन अप्ठेरो पर्‍यो।’

देउवाले संख्यामा निश्चित नभई जाँदा समस्या पर्ने भएकोले दाबी नगर्ने स्पष्ट पारेको उनले बताए।

‘हामीलाई माधव नेपाल पक्षले ४ बजे राजीनामा दिएर आउँछौं भनेका थिए तर, उनीहरुले राजीनामा दिएनन् यस्तो अबस्थामा हाम्रो पक्षमा नम्बर पुग्ने देखिएन र दाबी गर्न मिलेन त्यही भएर अहिले तत्काल दाबी गर्ने भनी यसअघि पार्टीले गरेको निर्णयबाट पछि हट्नुपर्छ,’ बैठकमा देउवाले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मतमा भएको मतदानमा विश्वास प्राप्त गर्न नसकेपछि पदमुक्त भएका थिए।

नयाँ बहुमतीय प्रधानमन्त्री चयनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका ९ बजेसम्मको समय दिएकी थिइन्।

माधव नेपाल पक्षका एमाले सांसदहरुको समूहले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्न सहज पार्ने भनिए पनि त्यसो नगरेपछि देउवालाई संसदमा बहुमत पुर्‍याउने सम्भावना टरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .