नेपाली कांग्रेसले बहुमतको सरकार गठनको लागि दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ।
मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले बहुमतको संयुक्त सरकार बनाउन दाबी पेश गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
‘राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन कांग्रेसले सक्छ’, नेता महतले नेपालखबरसँग भने, ‘माओवादी केन्द्रले हामीलाई समर्थन गरिसकेको छ, जसपा पनि पूरै आउँछ भन्ने बैठकले विश्वास व्यक्त गरेको छ।’
उनले अझै दुई दिन समय बाँकी भएकाले अन्य दलहरुसँग पनि कांग्रेसले छलफल गर्ने बताए।
पदाधिकारी बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका सभापति देउवाबीच बूढानीलकण्ठमा छलफल भएको थियो।
उक्त छलफलमा प्रचण्ड र यादवले देउवालाई बहुमतको संयुक्त सरकार बन्ने आधार रहेको बताएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको मतदानमा संसदको विश्वास गुमाएपछि उनी पदमुक्त भइसकेका छन्।
ओली पदमुक्त भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति नै नयाँ सरकार गठनको लागि नेपालको संविधान २०७२ को धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत सांसदको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई वैशाख ३० गतेभित्र प्रधानमन्त्री पदमा नियुक्त गर्ने दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
बहुमत सरकार गठनको लागि कुल २७१ मध्ये १३६ सांसदको समर्थन आवश्यक पर्छ।
त्यसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका ३२ सांसदले समर्थन गरे पर्याप्त हुने देखिन्छ तर जसपामा महन्थ ठाकुर पक्ष भने नयाँ सरकार गठबन्धनमा सहभागी नहुने बताइसकेको छ। उसको पक्षमा १५ सांसद छन्।
उनीहरुले सोमबारको विश्वासको मतदानमा कुनै पनि पक्षलाई मत दिएनन्। यस्तो अवस्थामा कांग्रेसलाई सरकार बनाउन पूरै जसपा सांसदको मत आवश्यक छ।

प्रतिक्रिया