नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्ने नैतिक अधिकार नै नभएको बताएका छन्।
सोमबार प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा धारणा राख्दै प्रचण्डले सोधे, ‘विश्वासको मत माग्ने पनि नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू!’
प्रचण्डले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि स्वाभाविक नभएको र नाटकजस्तो मात्र लागेको कटाक्ष गरे।
‘तपाईँले विश्वासको मत लिने कुरा पनि मलाई किन किन नाटकजस्तो लाग्छ’, प्रचण्डले भने, ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति सुनेपछि उहाँ संसद पुनस्र्थापनाको पक्षमा हुनुहुन्न भन्ने प्रस्ट हुन्छ।’
उनले विश्वासको मत नपाउने भएपछि फेरि ओलीले अर्काे धारामा टेकेर प्रधानमन्त्री हुने र विघटित हुने बाटो बनाउन खोजेको हो भन्दै प्रश्न गरे।
नियमित अधिवेशन बस्ने बेला यो अधिवेशन बोलाइएकोमा समेत प्रचण्डले प्रश्न उठाए।
उनले सोधे, ‘तपाईँको यसमा केही योजना रहेको छैन भनेर कसरी विश्वास गर्ने?’
उनले माओवादी केन्द्रले विघटन हुने डरले मात्र सरकारलाई दिएको समर्थन लिन ढिलाइ गरेको स्पष्टीकरण दिए।
‘तपाईँले विघटन गर्ने डरले हामीले रोकेर राखेको मात्रै हो’, उनले भने।

प्रतिक्रिया