नेपाली कांग्रेस संसदीय दलले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ।
शनिबार बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत २१ गतेको बैठकले पारित ‘प्रधानमन्त्री श्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने’ प्रस्ताव अनुमोदन गर्दै प्रतिनिधि सभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली माथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने र नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको हो।
सो बैठकले अन्य राजनीतिक दलहरुलाई पनि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न पनि आग्रह गरेको छ।
‘संविधानको मर्म र भावना विपरित वर्तमान सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई आफू अनुकुल संशोधन गरी अध्यादेश जारी गरेकोप्रति नेपाली कांग्रेस संसदीय दल घोर विरोध गर्दछ,’ संसदीय दलको बैठकको निर्णयमा भनिएको छ, ‘यसरी पटक–पटक संघीय संसदलाई छलेर जारी भएको अध्यादेशबाट गरिने निर्णय नेपाली कांग्रेसलाई मान्य हुने छैन।’
त्यसैले संवैधानिक परिषदको कार्य क्षेत्रलाई संकूचित गर्ने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेताको सहभागी नहुने संसदीय दलको बैठकले निर्णय गरेको उसले जनाएको छ।
‘साथै संवैधानिक परिषदका अन्य सदस्यहरुलाई बैठकमा सहभागी नहुन आग्रह गर्दछ,’ निर्णयमा भनिएको छ।
कांग्रेसले कोरोना संक्रमितहरु एम्बुलेन्सको अभावमा उपचारका लागि अस्पताल पुग्न नपाएको, अस्पताल पुगेर पनि बेड नपाएको, बेड पाए पनि अक्सिजन नपाएको र उपचार पाएकाले खर्च जुटाउन नसकेको अवस्थामा सरकार गैरजिम्मेवार भएको बताएको छ।
‘यस्तो कहाली लाग्दो अवस्था भइसक्दा पनि प्रधामन्त्री लगायत सरकारका जिम्मेवार अधिकारीको जनतालाई परेको दुःखकष्ट र शोक प्रतिको वेवस्ताले नेपाली कांग्रेस संसदीय दल अचम्मित र आक्रोशित भएको छ,’ कांग्रेसको वक्तव्यमा भनिएको छ।
कोरोनाको दोस्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले विज्ञहरुको सुझाव र कांग्रेसको मागप्रति संवेदनशील भएको भए र समयमै तयारी गरेको भए जनताको जीवन जोगाउन र यो संकट आउनबाट बचाउन सकिने उसको भनाइ छ।
‘तर सरकार आफ्नो काम कर्तव्यबाट सम्पूर्ण रुपमा असफल भइसकेको छ। सरकारको अकर्मण्यता, अयोग्यता र अनुदार कार्यले आज अपुरणीय क्षति भएको छ,’ उसले भनेको छ, ‘यो विषम परिस्थितिमा जनतालाई सुसूचित गर्दै जनताको जीवन रक्षाका पक्षमा सरकारलाई काम गराउन संसद भित्र नेपाली कांग्रेस संसदीय दल निरन्तर सक्रिय भएर लागि रहने छ।’
कोभिड १९ को रोकथाम र न्यूनिकरणका निम्ति छिटो भन्दा छिटो सबै नागरिकलाई खोप लगाउने सरकारको प्राथमिकता हुनुपर्नेमा कमिसनका कारण नेपालीहरुले खोप पाउनुबाट बञ्चित हुनुपरेको कांग्रेसको ठहर छ।
‘समयमै खोप ल्याएर नागरिकलाई लगाउन सकेको भए कयौं जीवन जोगाउन सकिन्थ्यो। जनताको जीवन रक्षा गर्ने खोपमा समेत भ्रष्टाचार गर्ने नियतका कारण आज ठूलो मानवीय क्षति व्यहोर्ने अवस्था आएको छ,’ वक्तव्यमा भनिएको छ, ‘सरकारको यो अमानवीय र गैरजिम्मेवार काम अक्षम्य अपराध हो, यो कार्यमा संलग्न जो सुकै भए पनि कडा भन्दा कडा कानूनी कारवाही गर्न जोडदार माग गर्दछ।’
प्रतिक्रिया