राजनीति


कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा प्रदेश सरकारप्रति असन्तुष्टि

कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा प्रदेश सरकारप्रति असन्तुष्टि

प्रकाश मिश्र
बैशाख २१, २०७८ मंगलबार १६:०,

कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ।

संक्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै प्रदेश सरकारको आलोचना बढेको हो। भारतबाट आउनेहरूको उचित व्यवस्थापन र अस्पतालहरूमा भएको अक्सिजन अभाव पूर्तिका लागि कुनै ठोस कदम नलिएको गुनासो बढेको छ।

पहिलो चरणको कोरोना कहरको समयमा पनि आलोचित बनेको प्रदेश सरकार यसपटक झनै आलोचित बन्न पुगेको छ। सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले महामारीका बेला जनताको पक्षमा उभिएर भाइरस रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने सरकार समस्याबाट बेखबर रहेको टिप्पणी गरे।

नेकपा (एमाले) कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतनबहादुर थापाले प्रदेश सरकार जनताको समस्यामा लाचार भएको आरोप लगाउँदै नाकाबाट भित्रिने नेपालीका लागि होल्डिङ सेन्टर बनाएर केहीदिनको होल्डपछि परीक्षण गराइ सम्बन्धित पालिकामा पठाउने काम गर्नुपर्नेमा त्यो पनि नभएको बताए।

सरकारले तत्काल रोकथाम तथा न्यूनीकरणका लागि काम अघि नबढाए जनताले क्षमा नदिने भन्दै अक्सिजनको व्यवस्थासहितका आइसोलेशनहरुको व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए।

प्रदेश सरकारले व्यवस्थापन नगरेपछि अस्पतालहरूमा अक्सिजन र अक्सिजन सिलिन्डर सहयोग गरिरहेको ह्युमिनिटी फाउन्डेसनका सदस्य तथा पत्रकार दीर्घराज उपाध्यायले प्रदेश सरकारले जनताको लाश गन्ने काम मात्र गरेको आरोप लगाए।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने प्रदेश सरकार नागरिकको समस्यामा गम्भीर भएर लागेको बताउँदै सरकार आफ्नै तरिकाले काम गरिरहेको जिकिर गरे। राज्य जनताको अभिभावक भएको हुँदा आफ्ना नागरिकको समस्यामा सरकार गम्भीर छैन भन्नु हास्यास्पद भएको उनको भनाइ छ।

मुख्यमन्त्री भट्टले आरोप लगाउनेहरू कहिल्यै नथाक्ने भएकोले आरोपहरू सुन्न भन्दा पनि काम गर्न लागिपर्ने दाबी गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad