ad ad

राजनीति


सत्ता समीकरणबारे जसपामा विवाद चर्किरहेका बेला ठाकुर पक्षले सांसद तथा नेताहरुलाई भन्यो– काठमाडौं नछाड्नू

सत्ता समीकरणबारे जसपामा विवाद चर्किरहेका बेला ठाकुर पक्षले सांसद तथा नेताहरुलाई भन्यो– काठमाडौं नछाड्नू

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ९:३५,

सरकारको विषयमा चरम विवादमा रहेको जनता समाजवादी पार्टी (जसपा) का एक अध्यक्ष महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिका सदस्य र सांसदहरुलाई काठमाडौं नछोड्न भनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि ठाकुर पक्षले आफू निकट सांसद तथा नेताहरुलाई यस्तो निर्देशन दिएको हो।

तत्काल पार्टीको बैठक बोलाउनका लागि सहज होस् भनी कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं नछोड्न भनिएको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए।

‘यो पक्ष वा अर्को पक्ष नभनौं, विकसित राजनीतिक घटनाक्रममा तत्काल निर्णय लिनका लागि उहाँहरुलाई काठमाडौंमै बस्न भनिएको होु, उनले भने, ‘यो सबै पार्टीको कुरा हो।’

ठाकुर पक्षले काठमाडौं नभएका सांसद र कार्यकारिणी सदस्यलाई पनि काठमाडौं बोलाएको अर्का एक नेताले बताए।

संसद बैठकअघि नै अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलमा बहुमत पुर्‍याउन प्रयास गरिरहे अनुसार उनीहरुसँग छलफलका लागि काठमाडौं बोलाएको स्रोतको भनाइ छ।

पार्टीका सांसद र नेताहरुसँग छलफल गर्नु स्वभाविक भएको जसपा वरिष्ठ नेता राजेन्द्र महतो बताउँछन्।

‘पार्टीका नेताहरुसँग निरन्तर छलफलमै छौं,’ महतोले भने, ‘अहिलेको राजनीतिक परिस्थिति पनि त्यस्तै छ।’

पार्टीभित्र बहुमत र अल्पमतको खेल भएको भन्दै उनले असन्तुष्टि जनाए। बहुमतको आधारमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने जाने अवस्थाले भोलि को कहाँ रहने भन्ने प्रश्न उब्जाएको उनले बताए।

१ सय २० जनाको मुद्दा फिर्ता गरेर सरकारले केही सहज वातावरण बनाए पनि महत्वपूर्ण बुँदा पुरा नभएको उनले बताए।

प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने विषयमा जसपा भित्र डा. बाबुराम भट्टराई, उपेन्द्र यादवको मत र महन्थ ठाकुरको मत फरक छ।

ठाकुर पक्ष ओलीप्रति नरम देखिए पनि भट्टराई र यादव भने ओलीलाई तत्काल हटाउनु पर्ने पक्षमा छन्।

संघीय संसदमा जसपाका ३४ सांसद छन्। जसमा एक जना निलम्बित छन् भने रेशम चौधरी जेलमा छन्।

कार्यकारिणी समिति र संसदीय दलमा भट्टराई–यादव पक्षले आफूहरु बहुमतमा रहेको दावी गर्दै आएका छन्। यसअघि महन्थ पक्षले बोलाएको सांसदको भेलामा ९ जना उपस्थित भएको आधारमा भट्टराई–यादव पक्षसँग करिब २३ सांसद रहेको देखिन्छ।

लुम्बिनी प्रदेशमा पार्टी निर्णयविपरित प्रदेश सरकारमा सहभागी भएका ४ जना सांसदलाई कारबाही गर्न पनि भट्टराई(यादव पक्षले बहुमतको साथ लिएका थिए। उनीहरुले बहुमतका आधारमा ४ सांसदलाई कारवाही गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .