राजनीति


गण्डकी प्रदेशमा सरकार ढाल्ने र जोगाउने दौडधुप तीव्र

गण्डकी प्रदेशमा सरकार ढाल्ने र जोगाउने दौडधुप तीव्र

प्रशान्त लामिछाने
बैशाख १५, २०७८ बुधबार १:१३,

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार टेबुल भएसँगै गण्डकी प्रदेशमा सत्ता ढाल्ने र जोगाउने प्रतिस्पर्धा तीव्र बनेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावबारे प्रदेश सभामा सोमबार छलफल सुरु भएको हो।

छलफल क्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा नयाँ मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र नेपाली पोखरेलले ओली सरकार प्रतिगमनकारी बनेकाले अविश्वास प्रस्ताव ल्याएको बताए।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न बाँकी भए पनि राष्ट्रिय जनमोर्चाले यस विषयमा मतदान गर्ने बताइसकेको छ। मुख्यमन्त्री गुरुङले आफ्ना सांसदलाई आफ्ना पक्षमा तान्ने कसरत गरिरहेका भए पनि जनमोर्चाले विपक्षमा उभिने घोषणा गरिसकेको छ।

मुख्यमन्त्री गुरुङले आफूलाई समर्थन गर्न आग्रह गर्दै जनमोर्चाका सांसदसँग छुट्टाछुट्टै भेट गर्नाका साथै पार्टी अध्यक्ष चित्रबहादुर केसीसँगसमेत कुरा गरेका थिए।

तर अध्यक्ष केसीले वक्तव्य नै जारी गरी आफ्नो पार्टी ओलीको प्रतिगमनविरुद्ध रहेकाले गण्डकी प्रदेशमा पनि सरकारविरुद्ध अविश्वास प्रस्तावमा समर्थन गर्ने बताइसकेका छन्।

मुख्यमन्त्री गुरुङले आफ्नो पक्षमा समर्थन जुटाउन काठमाडौं नै आएर जनमोर्चाका अध्यक्ष केसी र जनता समाजवादी (जसपा) का नेताहरूसँग पनि भेटेवार्ता थिए।

गण्डकी प्रदेशमा जसपाका २ सांसद छन्।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमा प्रदेश सभामा छलफल जारी छ। मंगलबारको बैठक भने पीसीआर परीक्षण माग गर्दै सत्तापक्षकै सांसदले अवरोध गरेका थिए।

त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदको कोरोना परीक्षण गरेर आज बुधबार दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको छ। प्रदेश सभा सदस्य कसैमा संक्रमण देखिएमा उसले बैठकमा बोल्न पाउने छैन। मतदान भने गर्न पाउने सहमति भएको छ।

अविश्वास प्रस्ताव दर्ता गरेका दलले आफ्ना सांसदलाई यसअघि नै पोखरा नछाड्न निर्देशन दिइसकेका छन्। चलखेल हुन नपाओस् भनेर उनीहरूले आफ्ना सांसदलाई सोमबारदेखि एउटै होटलमा राखेका हुन्। कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई पोखराको लेकसाइडस्थित कुटी रिसोर्टमा राखेका हुन्।

छलफल गर्न सजिलो हुने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होटलमा बसेको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले नेपालखबरसँग बताए। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा बुधबार मतदान हुने सम्भावना छ।

अविश्वास प्रस्ताव पास गराउन जसपाका २ र राजमोका ३ सांसदको मत निर्णायक हुनेछन्। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सरकारलाई समर्थन नै गरेका भए पनि यताउता नहोस् भनेर एमाले नेता सजग भएका छन्। यस क्रममा उनलाई प्रदेश सभा सदस्य राजीव पहारीले भेटेर छलफल गरेका छन्।

अविश्वास प्रस्ताव फेल गराउन मुख्यमन्त्री गुरुङले पनि राम्रै तयारी गरेको एक प्रदेश सभा सदस्य बताउँछन्। ‘हामीले पनि भित्री तयारी गरेका छौं। मतदानपछि सबै थाहा हुनेछ।’

जसपाले अविश्वास प्रस्तावमा मतदानअघि नै सत्ता बाँडफाँट र नियुक्तिका विषयमा प्रस्ट पार्न माग गरेपछि कांग्रेस र माओवादी केन्द्र झस्किएका छन्।

तर झस्किन नपर्ने जसपाका सांसद हरिशरण आचार्य बताउँछन्। ‘हामी अविश्वास प्रस्तावमै मत हाल्छौं,’ उनले नेपालखबरसँग भने, ‘जसपा प्रतिगमनको विरोधमा छ।’

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न ३१ सांसदको मत आवश्यक छ।

अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेकाले प्रस्ताव पास गर्न अब ३ सांसदको खाँचो छ। त्यसलाई परिपूर्ति गर्न राजमोका ३ सांसद सहमत भइसकेका छन्। तर पनि कुनै खेल हुन नपाओस् भनेर कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई होटलमा राखेका हुन्।

गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। एमालेलाई मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थन छ। उनी एमाले पार्टीमा प्रवेश गरिसकेका भए पनि सोमबारको प्रदेश सभा बैठकमा स्वतन्त्रकै सिट खोजेका थिए।

प्रदेश सभामा माओवादी केन्द्रका १२, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन्। सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी छन्। उनले निर्णायक मत मात्र दिन पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .