समुद्री सतहदेखि ५२ सय मिटरमाथि हिमाली क्षेत्र सिनजियाङको सैन्य जिल्लामा लामो दुरीसम्म मारहान्न प्रयोग गरिने रकेट लन्चर तैनाथ गरेको चिनियाँ सेनाको मुखपत्र पीएलए डेलीले जानकारी दिएको हो।
यो हतियारले भारतबाट उत्पन्न हुने खतरालाई कम गर्ने बताइएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक लामो दुरीमा आक्रमण गर्नसक्ने हतियार प्रणाली तैनाथ गरेको विषयलाई स्वीकार गरेको हो।
यसै अप्रिल महिनाको ९ तारिखमा दुवै देशका कमाण्डरबीच भएको वार्ता असफल भएपछि चिनियाँ सेनाले शक्तिशाली हतियार सीमामा तैनाथ गरेको जानकारी दिएको हो।
हालैको ११ औं चरणको वार्तामा चिनियाँ पक्ष हट स्प्रिङ र गोगरा पोस्टबाट सेना फर्काउन असहमत भएको भारतको आरोप छ।
गतवर्षदेखि चीन र भारत बेजोडसँग सीमा विवादमा होमिएका हुन्।
गतवर्ष जुन १५ मा विवादित क्षेत्र गलवान उपत्यकामा दुवै देशका सेनाबीच झडप भएको थियो। सो क्रममा २० भारतीय सेना र ४ चिनियाँ सेनाको मृत्यु भएको थियो।
दुवै देशका सेनाले एकअर्काप्रति एलएसीको नियम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्। आफू नियन्त्रित क्षेत्रमा घुसेकाले झडप भएको दुवै पक्षको भनाइ छ।
त्यसयता ११ पटक सैन्यस्तरमा विवाद समाधान गर्ने प्रयास भइरहेका छन्। कयौं विवादित क्षेत्रबाट दुवै देशका सेना पछाडि हटिसकेका छन्।
पाङगोङ सो ताल र कैलाशको उत्तर र दक्षिण क्षेत्र वरपरबाट भने दुवै देशले सेना फर्काएका छन्।
चिनियाँ पक्ष हट स्प्रिङ र गोगरा पोस्टबाट सेना फर्काउन असहमत भएसँगै साथै शक्त्तिशाली रकेट लन्चर सीमामा तैनाथ गरेसँगै फेरि विवाद बढ्ने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया