राजनीति


बालुवाटार बैठकमा ओलीको प्रश्न: प्रचण्ड र माधव नेपाल अब कहाँबाट चुनाव लड्ने?

बालुवाटार बैठकमा ओलीको प्रश्न: प्रचण्ड र माधव नेपाल अब कहाँबाट चुनाव लड्ने?

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १०:१४,

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा लागेका नेताहरुलाई थप कारबाही हुने भएको छ।

दसौं महाधिवेशन आयोजक कमिटीको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतका नेताहरुलाई थप कारबाही गर्ने बताएका हुन्।

‘माधव नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन,’ बालुवाटारमा जारी बैठकमा ओलीले भने, ‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने, कांग्रेसलगायत गैर कम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउनका लागि हामी फ्लोर क्रस गर्नेछौ यो सरकार तुरुन्त ढाल्नुपर्‍यो भन्ने रोदन गर्दै घर दैलो गर्न थालेका छन्।’

उनले अहिले एमालेमा देखिएको अराजक स्थिति अत्यन्त घातक, देशद्रोही, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको भएको भन्दै त्यस्ता गतिबिधिमा संलग्नबिरुध्द पार्टीले कडा भन्दा कडा कार्बाही गर्ने बताए।

बैठकमा नेता नेपालप्रति निकै आक्रामकरुपमा प्रस्तुत भएका ओलीले प्रचण्डलाई पनि राष्ट्रघाती काम गरेको आरोप लगाए।

‘प्रचण्ड र माधव नेपालहरुले इतिहासमा कलंकको टीका केपी ओलीले लगाउनेछन् भन्न भ्याएछन,’ ओलीले थपे, ‘प्रचण्डको दुईमुखे प्रवृत्ति हो, जसले मुखले देशभक्तिको कुरा गर्ने अर्कोतिर राष्ट्रघाती काम गर्ने, एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्कोतिर अपराधिक कर्म र भ्रष्टाचार गर्ने गरेका छन्।’

उनले आफ्नै पार्टीमा भए पनि नेता नेपालले संघीयताविरोधी काम गरेको टिप्पणी गरे।

‘माधव नेपालहरुले संघियताबिरोधी, अलोकतान्त्रिक, अराजक अनुशासनहीन काम गरेका छन्,’ कर्णाली प्रदेशमा माधव नेपाल पक्षबाट भएको ह्वीप उल्लंघनतरर्फ संकेत गर्दै ओलीले भने, ‘समानान्तर कमिटी बनाउने र प्लोर क्रस गराउने सम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधब नेपालहरुलाइ लगाउनेछ।’

प्रचण्ड र नेपालले ओलीलाई घोक्र्याउँछौं, धुलो चटाउछौं, भित्तामा टाँस्छौ भन्दै हिड्ने गरेको बताउँदै उनलृ प्रचण्ड र माधब नेपाललाइ अब जनताले नै धुलो चटाउनेछन र भित्तामा टाँस्ने दाबी गरे।

नेपालले आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरुलाई फाँसी चढाएको संज्ञा दिँदै यसो गर्नु ऐतिहासिक अपराध रहेको ओलीको भनाइ छ।

ओलीले पत्रकार महासंघको चुनावमा प्रेस चौतारीविरुद्ध ११ संगठन मिलेर हराएको र केपी ओलीलाइ सबक सिकायौँ भन्दै लड्डु बाँडेको प्रसंग कोट्याएका थिए।

‘महासंघ जितेर के भयो? के उपलब्धि प्राप्त गरे? बुज्न सकिएन,’ ओलीले सो बैठकमा भने, ‘अब ४ पार्टी मिलेर हामीलाई चौथो बनाउने रे, ठीक विश्लेषण गर्नुभयो अब एमाले एक्लै लड्छ, तपाईँहरु मिलेर आउनू, हामीले जित्दा दुई तिहाइ र हार्दा बहुमत ल्याउँछौं।’

प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्र नै नभएको समेत दाबी गरे।

‘प्रचण्ड र माधब नेपाल अबको चुनावमा कहाँबाट लड्ने हो? सांसद कसरी हुने हो? चुनावमा गठबन्धन बनाउन पनि कोही आउने छैन त्यही भएर चुनाव तपाईंहरुको लागि प्रतिगमन नै हो,’ ओलीले चुनौति दिँदै भने।

सो बैठकका लागि ७ एजेण्डा तय गरिएको छ।

यी हुन् एजेन्डाहरुः
१. राजनैतिक प्रतिवेदन
२. संगठनात्मक प्रस्ताव र केन्द्रीय सदस्यहरुको कार्य विभाजन
३. अनुशासनको कारबाही
४. उपनिर्वाचन
५. प्रदेश सरकारहरुबारे
६. केन्द्रीय कार्यालयको व्यवस्थापन
७. समसामयीक प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .