राजनीति


ताइवानलाई तत्काल आक्रमण गर्ने चीनको चेतावनी

ताइवानलाई तत्काल आक्रमण गर्ने चीनको चेतावनी

नेपालखबर
बैशाख १, २०७८ बुधबार १०:५,

अमेरिकी प्रतिनिधिको ताइवान भ्रमण अगाडि चीनले मंगलबार सैन्य आक्रमणको चेतावनी दिएको हो।

गत शुक्रबार मात्र अमेरिकी विदेश विभागले ताइवानसँग सम्बन्धित नयाँ नीति घोषणा गरेको थियो।

अमेरिकी र ताइवानका सरकारी अधिकारीहरु बीचको सम्बन्धलाई प्रोत्साहित गर्न सो नीति ल्याइएको थियो।

सो नीति एक चीन नीतिको विपरित भएको चीन सरकारको भनाइ छ।

सोही नीतिअनुसार बाइडेन प्रशासनले पूर्व अमेरिकी सिनेटर क्रिस डोड र पूर्व विदेश विभागका प्रमुखहरु रिचार्ड आर्मिटेज तथा जेम्स स्टेनबर्गलाई ताइवान पठाएपछि चीनले आक्रमणको चेनावनी दिएको हो।

चीनले ताइवानलाई आफ्नो प्रान्त भएको बताउँछ तर लोकतान्त्रिक ताइवानले भने आफूलाई सार्वभौम राज्यको रुपमा हेर्छ।

ताइवान अलग्याउने कदम चालिए आक्रमण गरेरै यो क्षेत्रलाई कब्जामा लिइने गतवर्ष चीनका राष्ट्रपति सी चिनफिङले बताएका थिए।

पछिल्लो समय अमेरिका र ताइवानबीच हतियार व्यापारका लागि विभिन्न सम्झौता भएका छन्। जुन कार्यबाट चीन रुष्ट छ।

यस क्रममा ताइवानलाई स्वतन्त्र राष्ट्र झै व्यवहार गरेर अमेरिकी अधिकारी त्यहाँ जाने भएपछि चीनले तत्काल आक्रमण गर्ने चेतावनी दिएको हो।

अमेरिकाले एक चीन नीतिमा प्रतिवद्धता व्यक्त गरेतापनि चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानलाई हतियार बेचेर उसले चीनसँगको सम्झौता उल्लंघन गरेको देखिन्छ। अमेरिकी अधिकारी ताइवान पुग्नु पनि सम्झौताको ठूलो उल्लंघन भएको चीनको भनाइ छ।

चीनको राज्य परिषदको ताइवान मामिला कार्यालयका प्रवक्ता मा सियाओग्वाङका अनुसार अमेरिकासँग नजिकिँदै स्वतन्त्र हुने चाहना राखे ताइवानमाथि आक्रमण हुन्छ।

हालै मात्र एकैदिन चीनका २५ युद्धक विमान ताइवानको हवाई क्षेत्रमा घुसेका थिए। सियाओग्वाङले सो विषयमा भनेका छन्,‘सैन्य अभ्यासले दिएको संकेत यो हो कि हामी हाम्रो भूमि ताइवान टुक्रन दिँदैनौं र ताइवानलाई अमेरिकासँग काम गर्न रोक्न कटिबद्ध छौं।’

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्ना अधिकारीहरुको ताइवान भ्रमणको विषयमा भनेको छ,‘यो ताइवान र उसको प्रजातन्त्रप्रति हाम्रो प्रतिबद्धताको संकेत हो।’

‘ताइवानलाई प्रयोग गरेर चीन नियन्त्रण गर्न चाहने बाह्य शक्तिहरू र ताइवान अलग्याउन चाहने शक्तिहरु १.४ अर्ब चिनियाँ जनताको दृढ संकल्पको सामना गर्न असफल हुनेछन्’ सियाओग्वाङले चेतावनी दिँदै भनेका छन्। 

गतवर्षको अन्तिममा पूर्व विदेशमन्त्री माइक पोम्पिओ ताइवान भ्रमणमा जाने चर्चा चलेको थियो।

त्यसबेला चीनले पोम्पिओ ताइवानमा अवतरण गर्नासाथ आफ्ना युद्धक विमानहरुले ताइवानमा आक्रमण गर्ने बताएको थियो।

चीन र ताइवानबारे तथ्य
–सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

–तर ताइवान आफ्नो भएको बताउने बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

–बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। एससीएमपी

याे पनि: अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय

के अमेरिकाले ताइवानको रक्षा गर्न सक्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .