सार्वजनिक निकायहरूलाई जवाफदेही बनाउनको लागि विवेकशील पार्टीले सूचनाको हक प्रवर्द्धन गर्ने विशेष अभियानको सुरुवात गरेको छ।
यस अन्तर्गत पार्टीले नागरिकहरूलाई पोष्टकार्ड वितरण, सूचनाको हक सम्बन्धी प्रशिक्षण र सूचनाको हक सम्बन्धी निवेदन तयार गर्ने वेब एप्लिकेसन बनाउनुका साथै पार्टीको सूचना अधिकारी पनि तोकेको छ।
विशेष अभियान अन्तर्गत नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सार्वजनिक स्थानहरुमा पोस्टकार्ड तथा मास्क वितरण गरेको छ। ‘नयाँ वर्ष २०७८ को हार्दिक शुभकामना, पारदर्शिताको लागि सूचनाको हक प्रयोग गरौँ’ लेखिएका हस्तलिखित पोस्टकार्ड तथा मास्क वितरण गरेको हो।
‘हस्तलिखित पोस्टकार्ड वितरण गर्दा पोस्टकार्ड प्रापकले आत्मीयताको महसुस गर्ने तथा दिन खोजेको सन्देश पनि सजिलै प्रापकले बुझ्ने भएकोले नजिकिँदै गरेको नयाँ वर्ष २०७८ को अवसर पारेर यो अभियान सञ्चालन गरिएको हो’ पार्टीको अभियान कार्यदल सदस्य लक्ष्मण श्रेष्ठले बताए।
विगत दुई हप्तामा सूचनाको हक प्रवर्द्धन गर्ने हेतुले संघीय कार्यालय, नक्साल र मकवानपुरमा सूचनाको हक सम्बन्धी प्रशिक्षण संचालन गरेको छ। विगतमा पनि अनलाइन मार्फत प्रशिक्षण कार्यक्रमहरु संचालन गर्दै आएको थियो।
विवेकशील पार्टीकी नेत्री साधना राईले भनिन्, ‘पारदर्शीता लोकतन्त्रको मेरुदण्ड भएको र लोकतन्त्र थप बलियो बनाउँदै, लोकतान्त्रिक मूल्यमान्यताहरूलाई संस्थागत गराउन सके मात्र सार्वजनिक निकायहरूलाई जबाफदेही बनाउन सकिने र नागरिकले शासन प्रणालीमा अपनत्व गर्न सक्ने भएकोले आफूहरूले सूचनाको हकको प्रचारप्रसार अभियानकै रूपमा अगाडि बढाएको र आगामी दिनमा पनि समुदाय र विशेष गरी युवाहरु माझ पुगेर यो अभियान अघि बढाउने छौँ।’
Shares

प्रतिक्रिया