राजनीति


जसपा फेरि अनिर्णित, नयाँ सरकार गठनको सम्भावना टर्दै

जसपा फेरि अनिर्णित, नयाँ सरकार गठनको सम्भावना टर्दै

सागर न्यौपाने
चैत २९, २०७७ आइतबार १५:२,

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल नयाँ सत्ता समीकरणबारे निर्णय नगर्ने संकेत गरेको छ।

आइतबार बसेको शीर्ष ६ नेताको बैठकमा त्यसबारे चर्चा भएपनि अझै नयाँ सत्ता समीकरण बनाएर जाने अवस्था नरहेको निष्कर्ष निकालिएको छ।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएर जाने प्रस्ताव गरेपछि त्यसबारे निर्णय गर्न जसपाको बैठक आइतबार पार्टी कार्यालय बालकुमारीमा बसेको थियो।

छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

तर, बैठकमा नयाँ सरकार बनाउने विषय संसदको एजेन्डा नै नबनेको भन्दै कुनै निर्णय नगरेको वरिष्ठ नेता महतोले नेपालखबरलाई जानकारी दिए।

‘हामी अनौपचारिक रुपमा बैठक बसेका थियौँ,’ महतोले भने, ‘नयाँ सरकार बनाउन उपयुक्त समय आइसकेको छैन। अहिले पार्लियामेन्टको एजेन्डा सरकार परिवर्तन बनेको छैन।’

उनले संसदमा प्रवेश नै नगरेको विषयमा जसपाले मात्र निर्णय गर्न नहुने पक्षमा आफूहरु रहेको बताए।

‘सडकमा निर्णय गरेर हुन्छ? संसदको विषय सरकार परिवर्तन बन्नुप¥यो नि! अहिले केही हुने देखिँदैन,’ उनले भने।

महतोको अनुसार जसपा अहिले आफ्नो पार्टीको माग सम्बोधन प्रक्रिया माअगाडि बढेकोले तत्काल केही निर्णय गर्ने पक्षमा छैन।

‘हाम्रो प्राथमिकता पार्टीले उठाएको मुद्दा हो, त्यो प्रक्रिया अगाडि बढिरहेको बेला सरकार परिवर्तनको एजेन्डाबारे कुनै निर्णय गर्ने पक्षमा छैनौँ,’ महतोले भने।

शुक्रबार बसेको जसपाको ६ नेताहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन पहिलो प्राथमिकता रहेको निष्कर्ष निकालेको थियो।

सोही दिन कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेको माओवादी केन्द्र र जसपासहितको तीन दलको बैठकमा पनि जसपाले सत्ता सकीकरणबारे निर्णय गर्न समय मागेको थियो।

तर, आइतबारको जसपा पदाधिकारीको बैठकमा त्यसबारे चर्चा भएपनि ठाकुर र महतोले कुनै निर्णय गर्न नमानेको एक नेताले बताए।

‘माओवादी केन्द्रले समर्थन दिइरहेको यो सरकार बहुमतमै रहेकाले अहिले नै हामीले नयाँ सत्ता समीकरणको निर्णय गर्न उपयुक्त हुँदैन,’ बैठकमा ठाकुरको भनाइ उधृत गर्दै ती नेताले भने, ‘जब संसदमा विषय आउँछ त्यतिबेला पार्टीले उपयुक्त निर्णय गर्नुपर्छ।’

महतोले भने आफ्नो पार्टीले उठाएको माग सम्बोधन प्रक्रिया अघि बढिरहेकोले त्यसलाई असर गर्नेगरी कुनै निर्णय गर्नुनहुने धारणा राखेका थिए।

जसपाका अर्का नेताका अनुसार बैठकमा महतो र ठाकुरले कांग्रेस र प्रधानमन्त्री ओलीले अर्ली इलेक्सनको तयारी गरेको विषयमा पनि चर्चा भएको थियो।

‘कांग्रेस र ओली चुनावको पक्षमा छन्, उनीहरुले त्यसैअनुसार तयारी गरिरहेका छन्। कांग्रेसले आफ्नो महाधिवेशन मात्र कुरेको हो, सत्तासमीकरणको कुरा हावादारी मात्र भयो,’ बैठकमा ती नेताले बैठकमा उठेको कुरा सुनाए।

पदाधिकारीको आजको बैठकले पनि सत्ता समीकरणबारे निर्णय गर्न नसकेपछि नयाँ सरकार गठन हुने सम्भावना टर्दै गएको नेताहरु बताउँछन्।

जसपाको आजको बैठकलाई निर्णायक भनिएको थियो। प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ।

नयाँ सत्ता समीकरणका लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भन्ने विषयमा जसपामा दुई धार छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ सत्ता समीकरण बनाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने पक्षमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .