प्रदेश–१ को आर्थिक मामिला तथा योजनामन्त्री पदमा पुनर्नियुक्ति पाएका टंक आङ्बुहाङ (लिम्बू) ले शपथग्रहण गरेका छन्।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले शुक्रबार साँझ विराटनगरमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
नेकपा माओवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित लिम्बू एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दै सांसदबाट बर्खास्त गरेको थियो। त्योसँगै उनको मन्त्री पद पनि गएको थियो।
तर मुख्यमन्त्री शेरधन राईले संविधानको धारा १७० उपधारा (१) बमोजिम उनलाई मन्त्री पदमा पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन्।
यसअिघ लिम्बूले गत चैत १३ गते सोही पदको शपथग्रहण गरेका थिए।
माओवादी केन्द्रले आफ्नो दल छाडेर एमाले बनेका नेताहरूलाई धमाधम कारबाही गर्दै सांसदबाट हटाइरहेको छ भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रदेखि प्रदेशसम्म उनीहरूलाई पुनर्नियुक्ति दिइरहेका छन्।
सांसद् नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया