नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज (चैत २५ गते) चुनाव हुँदै छ।
पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचनमा देशभरका १३ हजारभन्दा बढी पत्रकार मतदानमा सहभागी हुँदै छन्।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने भएका हुन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ। यसअघि जिल्लाबाट छानिएर आएका पार्षद (प्रतिनिधि) ले मात्र मतदान गर्न पाउने व्यवस्था थियो।
जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक मतदान हुँदै छ। मतदान बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।
नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक निर्वाचनमा १३ हजार १२२ मतदाता सहभागी हुनेछन्।
महासंघको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीको उम्मेदवारी परेको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनले एउटै प्यानल बनाएका छन्। जसको नेतृत्व प्रेस युनियनका पाखरेलले गरेका छन्। यस्तै एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीको छुट्टै प्यानल छ। जसको नेतृत्व शर्माले गरेकी छन्। यस्तै स्वतन्त्रबाट बुढाथोकीको उम्मेदवारी परेको हो।
मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ।
प्रदेश तथा जिल्लाका केही पदमा भने यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्।
मतदानका लागि संरचना र प्रक्रिया
प्रदेश संरचनामा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ।
सातवटा प्रदेशबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’ संरचना बनाइएको छ। उपत्यकाका ३ जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्ला समेटेर बागमती प्रदेश बनाइएको छ।
एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ। एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार संघ, खेलकुद पत्रकार संघ र वातावरण पत्रकार समूहको सहभागिता छ। त्यस्तै प्रतिष्ठानहरूबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ।
निर्वाचन मण्डल
महासंघको निर्वाचनका लागि केन्द्रमा वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोेजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ। जसमा ६ अधिवक्ता सदस्य छन्।
यस्तै जिल्ला शाखाको निर्वाचनका लागि संयोजकसहित ३ सदस्यीय निर्वाचन मण्डल बनाइएको छ। जसमा एकजना वरिष्ठ पत्रकार, एकजना अधिवक्ता र अर्को समावेशी, महिला वा खुला सदस्यसहित ३ सदस्य छन्।
मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया