राजनीति


पुनरवलोकन नगर्ने सर्वोच्चको फैसला फागुन २३ कै शृंखलाको अर्को कडी हो : नारायणकाजी श्रेष्ठ

पुनरवलोकन नगर्ने सर्वोच्चको फैसला फागुन २३ कै शृंखलाको अर्को कडी हो : नारायणकाजी श्रेष्ठ

नेपालखबर
चैत १९, २०७७ बिहिबार ११:१८,

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध पुनरवलोकन नगर्ने सर्वोच्च अदालतको फैसलालाई अस्वभाविक भएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नेकपा अवैधानिक भएको भन्दै माओवादी केन्द्र र एमाले ब्युँताउने सर्वोच्चको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदनका लागि निवेदन दिएका थिए।

बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो।

सर्वोच्चको फैसलापछि बिहीबार नेपालखबरसँग संक्षिप्त कुरा गर्दै श्रेष्ठले पुनरवलोकन नगर्ने आदेशप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताए।

‘यो आदेश फागुन २३ कै श्रृंखलाको अर्को कडी मात्रै हो’, श्रेष्ठले भने, ‘यसप्रति हाम्रो गम्भीर असहमति छ।’

 गत फागुन २३ गते सर्वोच्चले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको थियो। साथै सर्वोच्चले सोही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो।

सर्वोच्चको फैसला र माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयबारे उपाध्यक्ष श्रेष्ठसँग नेपालखबरले गरेको संक्षिप्त वार्ता यहाँ प्रस्तुत गरिएको छः

पुनरवलोकन नगर्ने सर्वोच्च अदालतको फैसलालाई यहाँको पार्टीले कसरी लिएको छ?
फागुन २३ गते सर्वोच्चले नेकपा नाम विवादमा रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर अस्वभाविक र राजनीतिक प्रकृतिको फैसला गरेको थियो। उक्त फैसला गलत भएको ठहरसहित हामी त्यसका विरुद्ध हामी पुनरवलोकनमा गएका हौं। तर, हाम्रो निवेदनमाथि आज अदालतले पुनरवलोकन नगर्ने जुन आदेश/निर्णय सुनायो, त्यो पनि हामी गलत देख्छौं। आजको फैसला पनि फागुन २३ कै आदेशकै श्रृंखलाको अर्को कडी मात्रै हो। जसप्रति हाम्रो गम्भीर असहमति छ।

त्यसो भए सर्वोच्चको फैसलाले आगामी दिनमा समस्या पार्छ भन्ने तपाईंको भनाइ हो?
सर्वोच्चको यो निर्णयसँगै अब एउटा ‘च्याप्टर क्लोज’ भयो। हामीले सर्वोच्च अदालतको यो निर्णयप्रति गम्भीर आपत्ति र असहमति जनाएका छौं। हामी संविधान र वर्तमान राज्य व्यवस्था मान्ने पार्टी भएकाले यो निर्णयलाई मान्छौं। हामी जनताको पार्टी हौं। त्यसकारण आफ्नो सिद्धान्त, राजनीतिक लाइन, पार्टी निर्माणको योजना अनुसार अगाडि बढ्छौं र जनताको सेवा र परिवर्तनको प्रक्रियालाई अगाडि बढाइराख्छौं।

पुनरवलोकनमा जाँदा एकता जोगिने आश पनि थियो। सर्वोच्चको आजको फैसलाले त्यसको पनि अन्त्य गरिदिएको छ। अब एमालेको नेपाल–खनालसँग यहाँहरुको कस्तो सहकार्य हुन्छ?
उहाँहरु (नेपाल–खनाल) एमाले पार्टीमै हुनुहुन्छ, हामी माओवादी केन्द्रको छौं। उहाँहरुले आफ्नो ढंगले सोच्नुहोला। अहिलेलाई हाम्रो एजेण्डामात्रै साझा हो। हामी त उहाँहरुसहित सिंगै पार्टीको एकता चाहथ्यौं नि। त्यो त भएन। त्यसकारणले गर्दा यो कुरा भविष्यलाई छाडिदिऊ। अहिले उहाँहरुले त्यहाँभित्र के भूमिका खेल्ने त्यो उहाँहरुको कुरा भयो। हाम्रो साझा एजेन्डा चाहिँ प्रतिगमनविरुद्ध मिलेर जाने, नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण गर्ने भन्ने मात्रै हो। अहिले तत्काल उहाँहरुले के गर्ने भन्ने उहाँहरुको कुरा भयो।

पूर्व माओवादीकै नेता गोपाल किराँतीले माओवादीहरु एक ठाउँमा हुनुपर्ने भन्दै सबै घटकका शीर्ष नेताहरुलाई पत्राचार गरेको समाचार आइरहेका छन्। के अब पूर्व माओवादीबीच एकताको प्रक्रिया अघि बढ्छ?
हामीले माओवादीहरुको मात्र पार्टी बनाउन खोजेको होइन। नेपालका सबै कम्युनिस्टहरुको एउटै केन्द्र बनाउन खोजेका हौँ। हाम्रो त्यो मिसन कायमै छ। त्यहाँभित्र माओवादीहरु पनि पर्छन्।

आज (बिहीबार) को स्थायी समिति बैठकले पनि केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेन। किन?
आजको स्थायी समितिमा दुईवटा निर्णय भएका छन्। एउटा, तत्कालिक राजनीतिका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) लगायतसँग भएको वार्ताबारे ब्रिफिङ भयो। कांग्रेस र जसपालाई अहिलेको राजनीतिक प्रक्रियाको सन्दर्भमा उहाँहरुको भूमिका के हुने हो निश्चित गर्न र छिट्टै निर्णय दिन अनुरोध गरियो।

अर्को, हामीले स्थगित गरेको केन्द्रीय कमिटीको बैठक, भेला वा सम्मेलनका लागि छिट्टै आवश्यक निर्णय गर्न स्थायी कमिटीको बैठक एक÷दुई दिनभित्रै गर्ने निर्णय गरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .