राजनीति


सांसद संग्रौलाको माग : अनुमति पाएका हजारौं युवालाई कोरिया जाने वातावरण मिलाइयोस्

सांसद संग्रौलाको माग : अनुमति पाएका हजारौं युवालाई कोरिया जाने वातावरण मिलाइयोस्

नेपालखबर
चैत १८, २०७७ बुधबार १०:५३,

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले ईपीएस प्रणालीबाट रोजगारीका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि १३ महिनादेखि पर्खीरहेका झन्डै १० हजार नेपाली युवालाई तत्काल काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हजारौं युवाको लगानी र समय खेर गइरहेकाले तत्काल कूटनीतिक माध्यमबाट कोरिया सरकारसंग वार्ता गरेर उनीहरुलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसंग माग गरेकी हुन्।

उनले विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको, दशौँ हजार नेपाली युवा स्वदेश फर्केको तर उनीहरुको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल नगरेको बताइन्।

नेपाली कांग्रेसमा श्रम तथा रोजगारसम्बन्धी मामिला हेर्ने सांसद संग्रौलाले यस अघि परराष्ट्रमंत्री प्रदीपकुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मंत्री गौरीशंकर चौधरीलाइ छुट्टाछुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरुको समस्याबारे अवगत गराएको पनि बताएकी छन्।

उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाको विषयमा मन्त्री द्वयको ध्यानाकर्षण गराउँदै नेपाली युवाहरुलाई जतिसक्दो चाँडो कोरिया पठाउन माग गरेकी हुन्।

नेपालका ७७ वटै जिल्लाबाट १० हजारभन्दा बढी युवा कोरिया सरकारले तोकेका सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जानबाट बञ्चित भएको उनको भनाइ छ।

जान नपाउँदा भाषा प्रशिक्षणसहित मेडिकल जाँचलगायतको खर्च डुब्ने र यसबाट उनीहरुको भविष्य नै अन्योलमा परेको उनले बताएकी छन्।

कोरियामा हाल ३० हजारभन्दा बढी नेपाली कामदार ईपीएस अन्तरगत काम गरिहेका छन्।

नेपाललगायत १६ वटा देशबाट कोरियाले ५० हजारभन्दा बढी कामदार वार्षिक रुपमा लैजाने गरेको छ।

कोरोना महामारीका कारण झन्डै एकवर्ष विदेशी कामदार लैजाने क्रम रोकेको कोरियाले अहिले भने कामदार लैजान थालिसकेको छ।

कोरियाले विदेशी कामदार लैजान थालिसक्दासमेत नेपाली कामदार कोरिया जान नपाएको छनौट भइसकेका युवाहरुको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad