नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले नागरिकमाथि अत्यन्तै अमानवीय नरसंहार गरिरहेको बताउँदै सो निन्दनीय गतिबिधिविरुद्ध उभिन आग्रह गरेको छ।
कांग्रेसले अन्य दलहरु र सरकारलाई समेत दमनविरुद्ध लोकतन्त्र र म्यानमारका जनताका पक्षमा प्रष्टरुपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गर्न र अभियानका पक्षमा ऐक्यवद्ध हुन अपिल गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म्यानमारका जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गरी लोकतन्त्रवादी नेतृ आङ साङ सुचीलगायत सबैलाई रिहाइ गर्नुपर्ने आवाज उठाएको छ।
म्यानमारमा लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापीरुपमा तीव्र दबाब बढाउनुपर्ने कांग्रेसले जनाएको छ।
‘विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
म्यानमारको पछिल्लो कुलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई कांग्रेसले निरन्तर नियालिरहेका जनाएको छ।
‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ,’ शर्माले भनेका छन्।

प्रतिक्रिया