रेशम चौधरीलगायत राजबन्दी रिहाइका लागि सरकारसँग वार्ता गर्न थरुहट/थारुवान राष्ट्रिय मोर्चाले उनकै संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
टीकापुर काण्डमा जन्मकैद सजाय सुनाइएपछि हाल डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो।
अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले शुक्रबार कैलालीमा पत्रकार सम्मेलन गरी टीकापुर राजबन्दीका तर्फबाट वार्ता टोली गठन गरिएको जानकारी दिएका हुन्।
टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसका कारण जेलमा हालिएका कैदीबन्दीलाई निःसर्त तुरुन्त रिहाइका लागि सरकारसँग वार्ता गर्न टोली गठन गरिएको मोर्चाले जनाएको छ।
मोर्चाका अनुसार टीकापुर काण्डमा रेशम चौधरीलगायत ७ जनालाई उच्च अदालत (दिपायल) ले जन्मकैदको फैलसा गरेको छ।
सत्ता समीकरणमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले रेशम चौधरीको रिहाइलाई पनि यतिबेला मुख्य राजनीतिक मुद्दा बनाइरहेको छ। यहीबीच थरुहट/थारूवान राष्ट्रिय मोर्चाले पनि सरकारसँग वार्ता गर्न टोली गठन गरेको हो।
Shares

प्रतिक्रिया