छापा खबर


काठमाडौंको आकाशको घातक तुँवालो अझै केही दिन नहट्ने

काठमाडौंको आकाशको घातक तुँवालो अझै केही दिन नहट्ने

नेपालखबर
चैत १४, २०७७ शनिबार १:४,

प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो ।

यही वेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको खबर आजको नयाँ पत्रिका दैनिकमा यम बमले लेखेका छन्।

बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक छ । यसबाहेक मुलुकका विभिन्न बस्तीमा आगलागी भएको छ । आकाश तुँवालोले ढाक्नुका साथै पानी नपर्दा शुक्रबार ललितपुरको भैँसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा ३०८ सम्म पुगेको थियो ।

शुक्रबार अपराह्न २ बजेयता काठमाडौंमा वायुको गुणस्तर सूचकांक एक्युआई ४७० सम्म पुग्यो । चितवन, धुलिखेल, पोखरा, सिमरा, दमक, धनगढीलगायतका क्षेत्रमा पनि प्रदूषणको मात्रा उच्च पुगेको छ । जब कि यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । तुँवालोका कारण ‘भिजिबिलिटी’ कम हुँदा शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा उडानसमेत प्रभावित भयो ।

‘उपत्यकामा पानी पर्न सकेको छैन, हावाहुरी पनि चलेको छैन,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘लाङटाङ राष्ट्रिय निकुञ्ज र पश्चिमी क्षेत्रमा भएका डढेलाको धुवाँ यहाँको प्रदूषणमा मिसिँदा तुँवालो बन्यो ।’ सन् २०१२ मा पनि लाङटाङमा कैयौँ दिनसम्म डढेलो लाग्दा काठमाडौंको आकाशमा तुँवालो लागेको थियो।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको आइक्यु एयरले त काठमाडौंलाई प्रदूषित सहरमध्ये पहिलो नम्बरमा समावेश गरेको थियो । यद्यपि, विश्व वायु गुणस्तर परियोजनाको तथ्यांकमा उच्च प्रदूषणमा काठमाडौंभन्दा सुडान, चीन र भारतका सहर अगाडि देखिन्छन् ।

मौसमविद् पौडलका अनुसार मुलुकका अन्य क्षेत्रमा स्थानीय र पश्चिमी वायुको हल्का प्रभाव रहेकाले केही क्षेत्रमा वेलावेला फाटफुट वर्षा हुने गरेको छ । तर, उपत्यकामा तत्काल पानी पर्ने सम्भावना छैन । ‘पानी परेन वा ठूलो हावा चलेन भने यहाँको प्रदूषण हट्न गाह्रो हुन्छ,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठका अनुसार वायुमण्डलमा उच्चचापीय क्षेत्र मजबुत बनिदिँदा खासै पानी पर्न सकेको छैन । ‘अहिले तुँवालाको समस्या काठमाडौैंमा मात्र होइन, दिल्ली, राजस्थानमा पनि छ,’ उनले भने, ‘वायुमण्डलको तल्लो तहमा रहेको हावा माथि जान नपाएपछि बादल बन्न सकेन, बादल नबन्दा पानी परेन ।’

उनका अनुसार वायुमण्डलको माथिल्लो तहमा उच्च चापका कारण तल्लो तहमा रहेको हावाले वायुमण्डलसँग स्पर्श गर्न पाएको छैन । ‘न्यूनचापीय प्रणाली विकास भएमा चारैतिरबाट आएको हावा माथि जान्छ । तर, उच्चचापीयमा माथिबाट हावा तल आयो । पानी नपरेपछि धुलोधुवाँ कायमै रह्यो । तुँवालो भयो,’ उनले भने।

सरकारले गत वर्ष स्वीकृत गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआई ३०० नाघे विपद्को रूप लिने भनिएको छ । यस्तो वेला सरकारले प्रदूषण नियन्त्रणका लागि कदम चाल्नुपर्ने हुन्छ । तर, वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी आइतबारसम्म अवस्था हेरेर ‘अलर्ट’ जारी गरिने बताउँछन्।

यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर ‘मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न, धुलो उड्ने खाले निर्माण केही दिनका लागि स्थगन गर्न र अत्यावश्यक नभई सवारीसाधन नचलाउन’ आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad