राजनीति


नजिकिँदै बालुवाटार–जसपा, कुरा मिल्ने सम्भावना बढ्दो

नजिकिँदै बालुवाटार–जसपा, कुरा मिल्ने सम्भावना बढ्दो

सागर न्यौपाने
चैत ११, २०७७ बुधबार १६:२१,

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) सत्ता साझेदारीका लागि फेरि नजिकिएका छन्।

दुई पक्षबीच पछिल्लो चरण भएका वार्ता सहमतिउन्मूख रहेको र सो प्रक्रिया निकै अघि बढेको नेताहरुले दाबी गरेका छन्।

उनीहरुका अनुसार घटनाक्रमले थप नयाँ मोड नलिएमा प्रधानमन्त्री ओली र जसपाबीच सहमति हुनसक्ने संभावना प्रबल बन्दै गएको छ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनको विषयमा पहल नगरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका केही नेताहरु ओली सरकारमै सहभागी भएर आफ्ना माग पूरा गराउनेतर्फ परिस्थिति मोडिएको बताइएको छ।

प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार बनाउन लागिपरेको जसपा कांंग्रेसकै कारण ओलीसँग मिल्ने अवस्थामा पुगेको जसपाका सांसद मोहम्मद इस्तियाक राइले बताए।

‘जसले माग पूरा गर्छ, जसपा त्यही सरकारमा जाने हाम्रो पार्टीभित्रको सहमति नै हो,’ राइले नेपालखबरसँग भने, ‘नयाँ सरकारको पहल लिनसक्ने कांग्रेस हो तर उसले हात उठाइसकेपछि माओवादी केन्द्र र हामी मिलेर त सरकार बन्दैन।’

उनले ओली सरकारले आफ्नो माग पूरा गरे जसपाले पनि सहयोग गर्ने प्रष्ट पारे।

‘कांग्रेसले साथ नदिएपछि त अहिले हाम्रो माग पूरा गर्नसक्ने प्रधानमन्त्री ओली नै हो,’ राइले भने, ‘आखिर राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैनन् त्यसैले मिलेर जान सकिन्छ।’

राइले ओली सरकारबाट माग सम्बोधन हुने आधार समेत देखेका छन्।

‘संसदमा रहेको नागरिकता विधेयक पास गर्दिने, मधेस र थरुहट आन्दोलनका बेला नेता कार्यकर्तामाथि लागेका मुद्दामध्ये २ सय फिर्ता लिने, रेशम चौधरीको रिहाई गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संविधान संशोधन गर्न कार्यदल बनाउने हो भने जसपा सरकारमा नजाने कुरै छैन,’ राइले भने।

प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतका अनुसार जसपा र ओलीबीच छिट्टै सहमति हुने सम्भावना छ।

‘जसपाका नेताहरुसँग अहिलेसम्म भएका वार्ता निकै सकारात्मक भएका छन्,’ उच्च स्रोतले भन्यो, ‘नतिजा कुर्न एक–दुई दिन पर्खिनुपर्ला।’

जसपाका सांसद प्रदीप यादवले पनि होलीपछि पार्टीले केही निर्णय लिनसक्ने बताए।

‘अहिले नेताहरुले बालुवाटारमा गएर अनौपचारिक छलफल गरिरहनुभएको छ तर त्यसबारे पार्टीमा विस्तृत ब्रिफिङ भइसकेको छैन,’ उनले भने, ‘औपचारिक रुपमा बैठक बसेर त्यसबारे समीक्षा गरेर निर्णय गर्छौं। सायद होलीलगत्तै निष्कर्षमा पुगिन्छ।’

जसपाभित्रै फरकफरक नेताहरुको भिन्नभिन्न धारणा आइरहेको र सो पार्टीभित्रको आन्तरिक समीकरण पनि छिटो छिटो परिवर्तन भएको हुँदा यसै नै हुन्छ भन्ने ठोकुवा गर्न भने कठीन रहेको दोस्रो तहका नेताहरुको भनाइ छ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अझै पनि ओलीप्रति निकै आक्रामक देखिन्छन्।

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीविरुद्ध पुस ६ गतेदेखि आन्दोलन गरेको जसपा संसद पुनर्स्थापना भएपछि ओली हटाउन कांग्रेस र माओवादी केन्द्रसँग मिल्ने प्रस्तावसहित छलफलमा जुटेको थियो।

तर, दुईपार्टीसँग छलफल भइरहेको बेला सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग भएको फैसला गरिदिएपछि परिस्थिति फेरि बदलियो।

माओवादी केन्द्र छुट्टै दल बनेपछि प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई बालुवाटार बोलाएर थुनामा रहेका सांसद रेशम चौधरीको रिहाईको लागि तयार देखिए। उनले त्यसका लागि आवश्यक कानूनी प्रक्रिया मिलाउन भन्दै नेताहरु सुवास नेम्वाङ, बिष्णु पौडेल र डा. राजन भट्टराई रहेको अनौपचारिक कार्यदल नै बनाए।

सोही कार्यदल र जसपाका अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतोसँगको निरन्तरको संवाद एउटा निष्कर्षमा पुग्न लागेको देखिन्छ।

अध्यक्ष ठाकुरसहित नेताहरु लक्ष्मणलाल कर्ण, सर्बेन्द्रनाथ शुक्लाले मंगलबार पनि प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

त्यो छलफलले एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्ने आभास भएको बालुवाटार स्रोतको दाबी छ।

जसपालाई फुटाएर सरकारमा लैजाने प्रयत्नमा रहेको बालुवाटार पछिल्लो समय भने एकीकृत पार्टीलाई नै सामेल गर्न सकिने आधार देखेपछि जसपासँगको सहमतिप्रति थप इच्छुक भएको हो।

पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत विश्वासमा लिएर अघि बढ्न बालुवाटार प्रयासरत् रहेको स्रोतहरुको भनाइ छ।

जसपा नेतृ तथा सांसद रेणु यादवले भने बालुवाटारले दिएको आश्वासनलाई विश्वास गर्ने अवस्था बनिनसकेको बताईन्।

‘बालुवाटारको आश्वासनलाई विश्वास गर्न सकिदैँन,’ यादवले नेपालखबरसँग भनिन्, ‘पहिला सरकारमा आऊ अनि माग सम्बोधन गरौंला भनेर ‘गिभ एण्ड टेक’ को रणनीति कसरी मान्न सकिन्छ र? पहिला माग पूरा होस् अनि के गर्ने पार्टीले निर्णय गर्छ।’

सरकारमा जाने विषयमा पार्टीभित्र एकपक्षले मात्र निर्णय गरेर नहुने उनले बताईन्।

उनले अहिले जसपालाई विभाजन गरी एउटा पक्षलाई सरकारमा सहभागी गराउने सम्भावना पनि नरहेको दाबी गरिन्।

‘जसपा पार्टी आँफै मिलेको होइन। जनताको अदालतले मिलाइदिएको हो, सरकारमा जाने विषय पार्टीमा ल्याइदिएर कसैले विवाद चर्काउने वा फुटाउने सपना नदेखे हुन्छ,’ यादवले भनिन्।

चार–पाँच जनाले चाहेर जसपा नफुट्ने उनले दाबी गरिन।

‘चार–पाँच जना नेताले चाहेर पार्टी फुट्दैन, हरेक निर्णय गर्दा एकढिक्का भएर निर्णय गर्छौं,’ उनको भनाइ छ।

जसपाका अर्का नेता शरतसिंह भण्डारीले आफूहरु मुद्दाप्रधान भएकाले जसले पार्टीका माग सम्बोधन गर्छ उसैलाई समर्थन गर्न सकिने बताए।

उनका अनुसार एमाले र माओवादी केन्द्रबीचको सरकार बहुमतमा रहेकोले आफ्नो पार्टीले अघि सारेको पाँचैवटा माग सम्बोधन गर्न सहज हुनेछ।

‘अहिलेको बहुमत सरकारले चाह्यो भने हामीले अघि सारेका सबै माग पूरा हुन्छ,’ भण्डारीले नेपालखबरसँग भने, ‘त्यही भएर यो सरकारलाई समर्थन दिनसकिन्छ।’

उनले सत्तासमीकरणका विषयमा अहिलेनै निर्णय नहुने दाबी गरे।

‘हाम्रा मुद्दा सम्बोधन भएपछि मात्र त्यसबारे निर्णय गर्ने कुरामा हामी स्वतन्त्र हुन्छौं, त्यतिबेलाको मुलुकको सिङ्गो परिस्थिति हेरेर गर्छाैं,’ भण्डारीले थपे।

यसअघि पनि संविधान संशोधन गर्न ओली सरकारलाई तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले समर्थन गरेका थिए।

तर, ओलीले संशोधनबारे कुरै सुन्न नचाहेको र अब पनि गर्छु भन्ने विश्वास नभएको रेणु यादवको भनाइ छ।

शरतसिंह भण्डारीले संसदमा रहेका कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र निषेधको राजनीति तीव्र भएकोले निकास निस्कन नसकेको बताए।

प्रतिनिधि सभा पुनर्स्थापना भएको एक महिना वितेको छ। आँफैले विघटन गरेको संसद सर्वाेच्च अदालतले पुनर्स्थापना गरेपछि त प्रधानमन्त्री ओलीले राजीनामा देलान् भन्ने आमअनुमानलाई ओलीले गलत सावित गरेका छन्। उनी आफ्नै सरकार लम्ब्याउने रणनीतिमा लागेपछि कांग्रेस, माओवादी केन्द्र र जसपा नयाँ गठबन्धनमा लागेका थिए।

तीनै दलका बीचमा पटक पटक छलफल भई उनीहरु ओलीलाई हटाएर नयाँ सरकार बनाउनका लागि अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा थिए।

कुनैपनि बेला ओलीविरुद्ध कांग्रेसकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति पनि भएको थियो।

तर, उनीहरुले सोचेजस्तो घटनाक्रम अघि बढेन। फागुन २३ गतेको सर्वाेच्चको दोस्रो फैसलाले एमाले र माओवादी पार्टी ब्युँताएर ओलीलाई झन् शक्तिशाली बनाइदियो।

त्यसपछि माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्तावका लागि कांग्रेसको नेतृत्वका लागि जोड गरे। तर त्यसका लागि कांग्रेस तातेन।

‘प्रमुख प्रतिपक्षी दलले ओलीको राजीनामाको विषय किन चर्काएन?’ सांसद भण्डारीले प्रश्न गरे, ‘तात्नुपर्ने पार्टी नै तातेन।’

घटनाक्रमहरुले घुमिफिरी जसपाका नेताहरुलाई फेरि बालुवाटार पुर्‍याएको छ।

जसपाका नेताहरु अब माग सम्बोधन गरे ओलीलाई नै साथ दिएर अघि बढ्नुपर्ने निष्कर्षतर्फ उन्मूख छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .