नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीले बिभिन्न १० आरोपसहितको स्पष्टीकरण सोधेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बसेको बैठकले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
सोहिअनुसार महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षर गरिएको स्पष्टीकरण पत्र आज सोमबार सम्बन्धित नेताहरुलाई बुझाइएको हो।
चार नेतालाई व्यक्तिगतरुपमा सम्बोधन गरी पठाइएको स्पष्टीकरणको भाषा फरक फरक रहेको छ।
वरिष्ठ नेता नेपाललाई साविक नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदा पार्टी अध्यक्ष ओलीविरुद्ध १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोपपत्र तयार गरेको भनी त्यसप्रति गम्भीर आपत्ति जनाइएको छ।
सो प्रतिवेदन तयार पार्ने क्रममा पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहाल प्रचण्डको मतियार भएको आरोप लगाइएको छ।
यो पनि : स्पष्टीकरणबारे यस्तो छ चार नेताको तयारी
नेपाललाई केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निस्कासनको निर्णय गराएको हो भनी प्रश्न गरिएको छ।
त्यसैगरी निर्वाचन आयोगमा पुगी पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने गराउने उद्देश्यका साथ निर्वाचन आयोगमा पटक–पटक किन गएको भनी स्पष्टीकरण सोधिएको छ।
उनलाई के उद्देश्यका साथ पार्टी फुटाउन खोजिएको भन्ने प्रश्न पनि गरिएको छ।
त्यसैगरी पार्टी अध्यक्ष र महासचिवले गरेको मौखिक तथा लिखित निर्देशनको अवज्ञा किन गरेको, चैत्र ४ र ५ गते राष्ट्रिय भेला किन गरेको, विभिन्न भेला गरी पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गरेको भनी थप प्रश्नहरु गरिएको छ।
आफ्नै पार्टी अध्यक्षले नेतृत्व गरेको सरकारविरुद्ध संसद, सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेको, आफ्नै सरकारविरुद्ध आफ्नो दलका नेता एवम् प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधि सभाका सदस्यहरुलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय सदस्यहरुको फर्जी हस्ताक्षर गरी पुस ५ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास किन गरेको भन्ने प्रश्न पनि सोधिएको छ।
यो पनि : ओली पक्षले बुझायो घनश्याम भुसाललाई स्पष्टीकरण पत्र : यस्ता छन् आरोप (पूर्णपाठ)
त्यसैगरी, नेपाललाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि बसेको एमालेको केन्द्रीय कमिटीका दशौं, एघारौं र बाह्रौं बैठक र संसदीय दलका बैठकहरुमा किन उपस्थित नभई समानान्तर संगठन निर्माण र भेलाहरु आयोजना किन गरेको भनी सोधिएको छ।
ओली पक्षले नेपाललाई विपक्षी राजनीतिक दलहरुसँग गठबन्धन गरी आफ्नै पार्टी अध्यक्ष ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन षडयन्त्र गर्नुको कारण के हो भनी सोधिएको छ।
ओली पक्षले नेपाललाई ती प्रश्नको तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरेमा कारवाही हुने जानकारी गराएको छ।
यो पनि :
- अवैध केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरण स्वीकार्य छैन : भीम रावल

प्रतिक्रिया