नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो। बैठकमा पार्टीका वर्तमान र पूर्व पदाधिकारी सहभागी हुने कांग्रेस स्रोतले जनाएको छ।
बैठकमा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिबारे छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘आन्तरिक विषयअन्तर्गत महाधिवेशन, क्रियाशील सदस्यताको विषयमा छलफल हुन्छ,’ शर्माले नेपालखबरसँग भने, ‘बैठक बसिसकेपछि राष्ट्रिय राजनीतिको बारेमा छलफल त हुन्छ नै।’
नयाँ सत्ता समिकरणको विषयमा चर्चा चलिरहेको बेला बस्न लागेको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ। कांग्रेसमा नयाँ सत्ता समिकरणको विषयमा दुई धार देखा परेको छ। सभापति शेरबहादुर देउवा कांग्रेसले सत्ताको नेतृत्व लिन हतार गर्न नहुने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तुरुन्तै कांग्रेसले सत्ताको नेतृत्व लिन अग्रसर हुनुपर्ने र केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने पक्षमा छ।
आजको बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ।

प्रतिक्रिया