नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले देशभर बैठक, भेला र प्रशिक्षण चलाउने भएको छ।
दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भेलामा देशभर बैठक, भेला र प्रशिक्षण चलाउने निर्णय भएको बताए।
उनले नेकपा खारेज गर्ने सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्दै पार्टी एकतापूर्व ०७५ जेठ २ गतेको कमिटीलाई आधार मानेर अभियान अगाडि बढाउने बताए।
‘अब हामी देशभर बैठक, भेला र प्रशिक्षण चलाउँछौँ। यो तीन/चार महिनाको हुन सक्छ’, सचिव भट्टराईले भने, ‘व्यापक रुपमा संगठनको परिचालन, प्रशिक्षण र कार्यकर्तालाई बुझाउने अभियान सुरु गर्छौं।’
उनले आफूहरु एकताको पक्षमा भए पनि अध्यक्ष ओली पार्टी विभाजन गर्न उद्यत रहेको बताए। उनले आफूहरु अन्तिम समयसम्म पनि एकातको पक्षमा रहने र आफ्नो तर्फबाट पार्टी विभाजनको घोषणा नहुने बताए।
‘प्रधानमन्त्री ओलीको निरकुंश शैलीले एकता सम्भव छैन। उहाँ विभाजनका लागि उद्यत हुनुहुन्छ’, उनले भने, ‘तर, हामी अन्तिमसम्म एकताको पक्षमा लाग्छौं र हाम्रोतर्फबाट विभाजनको घोषणा हुँदैन।’
प्रतिक्रिया