नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट पीडित भएकाहरु एक ठाउँमा भेला भएको बताएका छन्।
बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओलीले लगातार गुटगत गतिविधि गरेर कार्यकर्तालाई काखा र पाखा गरेको आरोप लगाए।
उनले ओलीले हरेक क्षेत्रमा पूर्वाग्रह राख्ने गरेको आरोप लगाए। उनले नियुक्तिदेखि पार्टीमा जिम्मेवारी दिने विषयसम्म ओलीले पूर्वाग्रह राखेको बताए।
‘उहाँले हरेक क्षेत्रमा पूर्वाग्रह राख्नुहुन्थ्यो। गुटको सुरुवात उहाँले गरेको हो– मदन भण्डारी फाउण्डेसनको नाममा। तपाईंहरु पनि साक्षी हुनुहुन्छ’, नेपालले भने, तपाईंहरु जिल्ला–जिल्लामा पीडित हुनुहुन्छ। तपाईं पनि पीडित, हामी पनि पीडित। पीडित पीडित एकठाउँमा भएका हौँ।’
उनले २०७१ मा ओली अध्यक्ष हुनु दुर्भाग्य भएको भनेर वामदेव गोतमले भन्दै हिँडेको स्मरण गरे।
‘२०७१ सालमा ओली अध्यक्ष हुनु नै दुर्भाग्य भयो भनेर वामदेव अहिले पनि भनिरहनु भएको छ,’ उनले भने।
प्रतिक्रिया