नेकपा एमालेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्ष बाटैमा हराएको भन्दै व्यंग्य गरेका छन्।
ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार केही समयको अन्तरमा केन्द्रीय कमिटीका दुईटा बैठक आयोजना गरेका थिए।
सो बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका नेताहरु माओवादी कार्यालय रहेको पेरिसडाँडाबाट हिडेर बानेश्वरको अर्याल होटलसम्म आइपुगेपछि कतै हराएको बताएका थिए।
‘पेरिसडाँडाबाट हिडेका साथीहरु अर्याल होटलसम्म आएको जानकारी थियो। त्यहाँबाट हराउनु भयो। कहाँ आइपुग्नु भएछ? केहि खबर छकी महासचिवज्यु?’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘चैत ७ गतेको बैठकका लागि चाहिँ खबर गर्नु होला।’
पार्टी विभाजित भएपछि पूर्वमाओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बनाएका प्रचण्ड–नेपाल पक्षका नेताहरुले पेरिसडाँडास्थित माओवादी कार्यालयमा बैठक बस्ने गरेका थिए।
नेकपा विघटन भएपछि नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा भेला गर्ने गरेको छ।
बैठकले केन्द्रीय कमिटीको सदस्य थप्ने, पदाधिकारीहरु हटाउने, जिम्मेवारी हेरफेर गर्ने सहितको निर्णय गरेको थियो।
नेपाल पक्षका नेताहरुले भने बैठकबारे कुनै खबर नगरिएको बताएका छन्।
‘बैठकको बारेमा कुनै जानकारी आएको छैन,’ नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने।

प्रतिक्रिया