सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भंग गर्दै नेकपा एमाले ब्युँताइदिएपछि यसअघि प्रचण्ड समूहमा रहेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष आफ्नो पुरानै पार्टीमा फर्किएको छ।
योसँगै फेरि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल पक्षको टक्कर अर्थात् गुटगत शक्तिको प्रतिस्पर्धा सुरु भएको छ।
यसै सन्दर्भमा प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने पूर्वसञ्चारमन्त्रीसमेत रहेका एमाले नेता गोकुल बास्कोटाले माधवकुमार नेपालको नाम नलिईकन उनीविरुद्ध कटाक्ष गरेका छन्।
नेता नेपाललाई मुद्दा हारेको झगडियाको संज्ञा दिँदै बास्कोटाले गल्तीको आत्मालोचना गर्नुको साटो उल्टो फेरि गुटगत भेला सुरु गरेको टिप्पणी गरेका हुन्। साथै उनले संस्थापन पक्षलाई धम्की नदिन चेतावनी पनि दिएका छन्।
‘मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठीकै हो तर बाह्र महिना बाह्रै काल बर्बराउनुचैं घामटपन। एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्नु सोह्रै आना गलत,’ माधव नेपालतर्फ संकेत गर्दै नेता बास्कोटाले शुक्रबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोको गल्तीको आत्मालोचना त कता हो कता उल्टै गुटको भेलाबाट संस्थापनलाई धम्की ! ४० प्रतिशत होइन, २२ प्रतिशत पनि पुग्दैन। वाहियात !’

प्रतिक्रिया