सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेका आरक्षण बचाऔं आन्दोलनका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लोक सेवा आयोगले संविधान विपरित विज्ञापन खुलाएको दावी गर्दै आन्दोलनरत सो आन्दोलनका अगुवाहरुलाई आइतबार काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो। प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माईकमार्फत् सचेत गराएको थियो भने प्रर्दशनकारीहरुले शान्तिपूर्ण रुपमा प्रर्दशन गर्न पाउने दावी गरिरहेका थिए। भद्रकालीबाट प्रर्दशनकारीहरु सिंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो। त्यस क्रममा प्रर्दशनकारीहरुले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए।
प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए। आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिईरहेका छन्। उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन्।
Shares

प्रतिक्रिया