विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ।
मंगलबार दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाएको सांसद राजकिशोर यादवले नेपालखबरलाई बताए।
उनका अनुसार सर्वोच्चको दुईवटा फैसला, संसदमा जसपाका सांसदको भूमिका लगायतका विषयमा छलफल हुनेछ।
‘राजनीतिक उथलपुथल भएको छ, समसामयिक राजनीतिमा जनता समाजवादी सांसदहरुले खेल्ने भूमिका के हुन्छ? पछिल्लो राजनीतिक घटनाक्रममा पार्टी कसरी अगाडि बढ्ने, संसदभित्र कसरी प्रभावकारी भूमिका खेल्न सकिन्छ, सर्वोच्च अदालतको दुईवटा फैसलाबारे के दृष्टिकोण बनाउने विषयमा छलफल हुन्छ’ यादवले नेपालखबरसँग भने।
समाजवादी पार्टी नेपाल र राजपा मिलेर बनेकाे जसपाका ३३ सांसदमध्ये रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा जसपाले संवैधानिक निकायमा गरिएको नियुक्ति कानुनसम्मत नभएको भन्दै बैठकमा अवरोध गरेको थियो।
सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम बदर गरेको थियो।
यस्तै अदालतले आइतबार एमाले र माओवादी एकीकरण भएर बनेको नेकपा नामलाई मान्यता नदिएर ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएको थियो। अदालतको फैसलाले पूर्वएमाले र माओवादी केन्द्र व्युँतिएका छन्।
प्रतिनिधि सभाको बैठक अब बुधबार बस्दैछ।

प्रतिक्रिया