प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार अहिले पेरिसडाँडामा सचिवालयको बैठक बसिरहेको छ।
दिउँसो २ बजे केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने तयारी गरिरहेको नेकपा आयोग जाने कार्यक्रम रोकेर छलफलमा जुटेको हो।
‘निर्वाचन आयोग जाने भन्ने थियो, त्यो अहिलेलाई रोकिएको छ’, चौलागाईंले नेपालखबरसँग भने ‘अहिले सचिवालय सदस्यहरु छलफलमा हुनुहुन्छ। छलफलपछि थप निर्णय हुन्छ।
निर्वाचन आयोगले नेकपा विवादमा निर्णय दिन ढिलाइ गरेपछि बिहीबार दिउँसो २ बजे प्रचण्ड–नेपाल समूह केन्द्रीय सदस्यको नागरिकताको प्रतिलिपि, हस्ताक्षर, पार्टी परिचय पत्रसहित निर्वाचन आयोग जाने तयारी गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते पार्टीमा सल्लाह नै नगरी प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ।
प्रचण्ड नेपाल समूहले गत २० माघमा आफूहरु वैधानिक भएको दावी गर्दै निर्वाचन आगोगको दलसम्बन्धी ऐनको दफा ४४ अनुसार बहमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाबीपत्र बुझाएको थियो। तर आयोगले सो विषयमा अहिलेसम्म कुनै निर्णय नगरेपछि उक्त समूह पुनः निर्वाचन आयोग जान लागेको हो।
यसअघि बिहीबार पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर नेकपा विवादमा आयोगलाई अनिर्णयको बन्दि नबन्न आग्रह गरेका थिए।
Shares
प्रतिक्रिया