राजनीति


जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु

नेपालखबर
फागुन १९, २०७७ बुधबार १२:४,

नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक जंगी अड्डामा सुरु भएको छ। प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा बैठक सुरु भएको हो।

कार्यक्रममा प्रधानसेनापति, रक्षा मन्त्रालयका प्रतिनिधि, जंगी अड्डाका पिएसओज रथीबृन्द, सबै पृतनाका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिती रहेको नेपाली सेनाले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यवसायिकता, लगनशिलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गर्दै ६-६ महिनामा आयोजना हुने रणनीतिक तहको यस बैठकले विगतको गहन समिक्षा सहित नेपाली सेनाको भावि कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्‍वास व्यक्त गरे। उनले यस प्रकारको बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषत नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रुपले विश्‍वस्त रहेको समेत बताए।

उक्त अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ संगठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेको र यो समन्वयात्मक बैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भइरहेका कार्यहरुको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, ब्यवसायीक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे।

समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ। यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad