ad ad

राजनीति


नेम्वाङले भने : प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री ओली झन् बलियो हुनुभयो

नेम्वाङले भने : प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री ओली झन् बलियो हुनुभयो

नेपालखबर
फागुन १५, २०७७ शनिबार १३:१९,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको बताएका छन्।

नेकपा ओलीसमूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ अवस्थामा प्रधानमन्त्री ओली पुनर्स्थापना पछि दह्रो भएको बताएका हुन्।

प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणी समेत गरे। हिजो पुनर्स्थापना नहुँदासम्म केपी ओली त ‘केयर टेकर’ हो निर्वाचन घोषणा गरिराखेको छ। निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन’, उनले भने, ‘यो ठीक होइन भनिराथ्यौं। अब त त्यो दुःख पनि गर्न नपर्ने भयो। संसद पुनर्स्थापित भयो। प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन दह्रो पो हुनुभयो।’

 नेता नेम्वाङले प्रतिनिधिसभा पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत् भएको बताउने गरेको बताए। तर, अहिले पुनर्स्थापित भएपछि फेरि संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे।

‘पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्रसम्मत् छ कानुनसम्मत छ। सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ। उहाँले भनिराख्नुभएको थियो, तर पुनर्स्थापित भइदिँदा खेरी अब हामी संसदमा फेरि फर्किएका छौं, स्थिति भनेको यो हो’, उनले भने, ‘पुनर्स्थापित गर्ने साथीले के सोच्नुभयो थाहा छैन । तर यसले त प्रधानमन्त्री र अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन।’

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताए।

उनले कानुनी रूपमा नेकपा विभाजन भइनसकेको पनि बताए। अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको उनको भनाइ थियो। पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे।

‘हामीले भनिराखेका छौँ। नेकपामा विभाजन छैन। हामीले त्यो बोलिराखेका छौँ। हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ। कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ’, उनले भने, ‘हाम्रा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेका छैनौँ। त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .