विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अफर (प्रस्ताव) नगरिएको बताएका छन्।
आज बुधबार अपरान्ह गरिएको आफू पक्षका सांसदहरुको बैठकमा प्रचण्ड र नेपालले सो जानकारी गराएका हुन्।
आजै चितवनबाट फर्केका प्रचण्ड र नेपाल दुवैजना त्यसलगत्तै कांग्रेस सभापति देउवाको निवासमै पुगेर भेटेका थिए।
त्यसपछि बसेको आफूपक्षीय संसदीय दलको बैठकमा नेताहरुले सो प्रष्टिकरण दिएका हुन्।
‘कांग्रेसलाई प्रधानमन्त्री पद अफर नै गरेको भन्ने हल्ला जुन आएको छ, त्यो सहि होइन, कांग्रेससँग सहकार्य गरौं भन्ने छलफल मात्र गरिएको हो,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सांसद रामकुमारी झाँक्रीले भनिन्।
उनका अनुसार नेताहरुले अब संसद पुनर्स्थापना भएपछि अल्पमतको सरकार बन्ने र त्यसपछि सरकार बनाउने तथा गिराउने क्रम सुरु हुने भयो भनी गरिएका दाबीहरुबारे पनि प्रचण्ड र नेपालले सांसदहरुसँग प्रष्ट्याएका थिए।
‘अल्पमतको सरकार बन्ने र अस्थिरता सुरु हुने भयो भनी जुन हल्ला चलाइएको छ, त्यस्तो हुँदैन, त्यसप्रति हामी सचेत छौं भनेर अध्यक्षहरुले आश्वस्त पार्नुभयो,’ झाँक्रीले भनिन्।
सांसदहरुलाई केहि दिन काठमाडौं नछाड्न पनि भनिएको छ।
‘१३ दिनभित्र संसद अधिवेशन बस्ने भनिएको छ, बीचमा आवश्यक पर्नसक्छ भनेर बाहिर जिल्ला नजानुस् भनिएको हो,’ उनले भनिन्।

प्रतिक्रिया