राजनीति


ओली पराजित भए, विजय भएका प्रचण्डले एकताका लागि भूमिका खेल्नुपर्छ : वामदेव गौतम (अन्तर्वार्ता)

ओली पराजित भए, विजय भएका प्रचण्डले एकताका लागि भूमिका खेल्नुपर्छ : वामदेव गौतम (अन्तर्वार्ता)

नेपालखबर
फागुन १२, २०७७ बुधबार ९:२९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन्। प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताएका हुन्। बुधबार बिहान न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लिनुपर्ने पनि बताए। उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ?
सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ। यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनर्स्थापित गरेको छ। यसले स्वेच्छाचारी तरिकाले जे मनलाग्यो त्यही गर्दै हिँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ। त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ।

प्रतिनिधि सभा भंग गर्ने काम असंवैधानिक हो र यससँग सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ, त्यो सबै असंवैधानिक हुन भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुनर्स्थापित होइन अरु धेरै कामहरु पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन्। ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ। मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु।

मन्त्रिपरिषद्को एउटा निर्णयले राष्ट्रिय र नेकपाभित्रको राजनीति सबै खलबलिएको थियो। अब कोर्स कताबाट सुरु गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ? कसको के भूमिका हुनुपर्छ? तपाईंले उठाउँदै आएको पार्टी एकताको कुरा अब कुन सिराबाट शुरु हुन्छ?
पार्टी एकताको निम्ति सुरु गर्नुपर्ने दुई अध्यक्षले हो। दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनुभएन। पार्टी त बिभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन, केपी ओलीले हो भनेर भन्नुभएको छ। पार्टी फुटाउने काम प्रचण्ड–माधवहरुले हो भनेर यतातिरकाले  भनेका छन्। अनि ‘साइड बाई साइड’ पार्टी फुटाउने वामदेव हो भनेर दुर्वैले आ–आफ्नो तरिकाले भन्नुभएको छ।

जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ। राम्रो भएमात्रै आफुले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरुलाई लगाउने, आफै गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरुलाई अगाडि सार्ने र उनीहरुले गर्दाखेरी नै यो सबै भएको भनेर भन्ने चलन छ।

bamdev photo

हुँदाखाँदाको नेपाली जनताले विश्वास गरेको पार्टीलाई फुटाएर उहाँहरु हिँड्नु भएको छ। यो पुनर्स्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनर्स्थापित गर्नुपर्छ । यद्यपि सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ। त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकताका निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ।

एकताका लागि नेकपाका दुई पक्षबीच कसको ‘स्टेप’ पहिलो हुनुपर्छ र कहाँबाट शुरु हुनुपर्छ?
जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरु हुनुपर्ने हो। हिजो प्रचण्डले विभिन्न मिडियामा दिएको प्रतिक्रिया मैले सुनेँ। उहाँले चाल्नुभएको कदम सही सावित भएको छ, केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ। यस्तो अवस्थामा पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो। उहाँले भन्नुपर्ने हो।पराजित भएकोले भनेर त अरुले मान्दैनन्।

त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो। तर, प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ।पार्टी एकता हुन्छ, पार्टी एकता गर्नुपर्छ, अब सबै साथीहरु एकजुट हुनुहुन्छ म उहाँहरुलाई आह्वान गर्छु एकता हुनको निम्ति भनेर भन्नु भन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस भनेर भन्नुहुन्छ। त्यो भएर जिम्मेवारी कसैलेपनि लिनुभएन। लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो। माधव नेपालले हो। पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो। त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन।

अब तपाई के गर्नुहुन्छ ?
मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो। पहिला म दुईवटा अध्यक्ष र महासचिवलाई पार्टी एकताका निम्ति पहल गर्नुहोस् भनेर भन्छु। केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो। उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ।

मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अव म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनका निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो। उहाँले त्यो भनेको अहिलेसम्म मैले सुनेको छैन। त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो। अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकतावद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकतावद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं ।

सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठ्छ कि उठदैन?
नैतिकताको प्रश्न नीति मान्नेहरुलाई उठ्दो रहेछ। जसले नैतिकता मान्दै–मान्दैन उसका निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ। तर, म के ठान्छु भने लामो समय कम्युनिस्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ। त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ। हिजै राजीनामा गर्नुपथ्र्यो। सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपथ्र्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन।

म फेरि पनि भन्न चाहन्छु तुरुन्तै राजीनामा गर्नुहोस्। राजीनामा गरेर पार्टी एकताको आह्वान गर्नुहोस्। मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु। त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकतावद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad