संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलापछिको खुसियालीमा भएको दीपावलीप्रति समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्।
भारतमा उपचाररत पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अहिले दीपावली नभएर दलहरुले गम्भीर आत्म समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। मंगलबार सर्वोच्चले संसद पुनर्स्थापनाको निर्णय गर्दा उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सर्वोच्च अदालतले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा आफ्नो रोगै हराएको जस्तो भएको छ।’
संसद पुनर्स्थापनाको खुशियालीमा मंगलबार साँझ नेकपाको प्रचण्ड नेपाल पक्षीय नेता कार्यकर्ताले दीपावली गरेपछि बुधबार बिहान सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘ऐले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो! देश पुस ५ मा फर्केको मात्र छ, यी सबै प्रश्न अनुत्तिरत छन्. भष्मासुरलाई कसले हुर्कायो/पाल्यो? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो? राजनीतिक नेतृत्व यति भ्रष्ट/मूल्यमान्यताविहीन कसरी बन्यो? त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी? मम:भनौं!’

प्रतिक्रिया