मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
केहीबेर अगाडि सुरु भएको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने सम्भावना रहेको एक मन्त्रीले बताए।
बैठकले प्रतिबन्द फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्ने ती मन्त्रीले जानकारी दिए।
सोमबार नै मन्त्रिपरिषद्को बैठक राखेर विप्लव नेकपामाथि लगाइएको प्रतिबन्धको फुकुवा गर्ने तयारी भएको भए पनि प्रधानमन्त्री केपी ओली कार्यक्रमका सिलसिलामा धनगढी गएकाले बैठक बस्न सकेको थिएन्।
सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको भन्दै शनिबार विप्लव आफैले विज्ञप्ति जारी गरेका थिए।
वार्ता टोली गठनअघि नै सरकारका प्रतिनिधि र विप्लव नेकपाका दोस्रो तहका नेताहरुबीच अनौपचारिक वार्ता भने भइरहेको जनाइएको छ।
विप्लव नेकपाका प्रतिनिधिसँग अनौपचारिक सहमति भएअनुसार सरकारले मंगलबार प्रतिबन्ध फुकुवा गर्ने भन्ने थियो।
प्रतिबन्ध फुकुवा गरेर वार्ताको आह्वान गरे विप्लवले तत्काल वार्ता कमिटी सार्वजनिक गर्ने र प्रतिबन्ध मात्रै फुकुवा भए पार्टीका नेताहरु सार्वजनिक हुने सो पार्टीका एक नेताले जानकारी दिए।
‘प्रतिबन्ध फुकुवा भएर वार्ताको आह्वान भए हामी वार्तामा बस्छौँ, प्रतिबन्धमात्रै फुकुवा भए हामी सार्वजनिक हुन्छौँ।’
Shares

प्रतिक्रिया