तनावबीच नै बेलायती विदेशमन्त्री डोमिनिक राबले हङकङको विवाद छलफलबाट टुंगो लगाउनु पर्ने बेइजिङसँग प्रस्ताव राखेका छन्।
डोमिनिकले चिनियाँ समकक्षी वाङ यीसँग हङकङको विवाद टुंगो लगाउन छलफलको आवश्यकता भएको बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
तर चीनले भने विदेशमन्त्री डोमिनिकको प्रस्ताव हालसम्म स्विकार नगरेको बताइएको छ।
मुख्यक्षेत्र चीनले गतवर्ष हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि बेलायत चीनसँग रुष्ट बनेको छ।
त्यसयता बेलायतले बीएनओ पासपोर्ट भएकाहरु साथै उनीहरुसँग आश्रित व्यक्तिहरुलाई बेलायतमा स्थायी रुपमा बस्न दिने प्रावधान बनाएपछि चीनले बीएनओ पासपोर्टलाई खारेज गरिदिएको छ।
बेलायतको प्रावधानबाट हङकङका बीएनओ पासपोर्टधारी र उनीहरुसँग आश्रित ५४ लाख हङकङवासीलाई बेलायत बस्ने ढोका खुलेको थियो।
तर बीएनओ खारेज भएपछि यतिबेला उक्त पासपोर्टबाट कोही पनि हङकङ बाहिर जान पाएका छैनन्।
कुनै समय हङकङ बेलायतको उपनिवेश थियो। सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेको थियो।
त्यसबेला बेलायतसँगको सम्झौतामा चीनले ५० वर्षसम्म हङकङलाई स्वतन्त्र छाड्नुपर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।

तर २३ वर्ष नहुँदै चीनले सुरक्षा कानुन लागू गरिदिएर हङकङको स्वतन्त्रता खोसेको र आफूसँगको सम्झौता उल्लंघन गरेको बेलायतको अरोप छ।
यसबीचमा बेलायतले हङकङबासीलाई बेलायतमा बस्ने अवसर प्रदान गर्दा चीनले आन्तरिक मामिलामा दख्खल नदिन चेतावनी दिँदै आएको छ।
बेलायती विदेशमन्त्री डोमिनिक भन्छन्,‘दुई देशबीच समस्या र चुनौती भएको बेलामा विदेशमन्त्रीले समस्या सुल्झाउन वार्तामा संलग्न हुनुपर्छ। हामीसँग जहिल्यै कूटनीतिको ढोका खुला रहनेछ र हामीले सँधै सकारात्मक परिणामको खोजी गर्नुपर्छ।’
चीन बेलायतको प्रमुख पाँच व्यापार साझेदार राष्ट्र हो। हङकङ विवाद साथै अन्य अन्तर्राष्ट्रिय मानवअधिकारको रिपोर्टमा चीनलाई दोषी ठहर्याइँदा बेलायतले पनि चीनको विरोधमा बोलेपछि हाल यी दुई देशबीच व्यापार लगायतका विषयमा प्रगति हुन सकेको छैन।
बेलायलते गतवर्ष मात्र चीनको हुवावेको फाइभ–जी प्रविधि प्रयोग नगर्ने पनि बताएको थियो। एससीएमपी
Shares

प्रतिक्रिया