राजनीति


मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको बागमती प्रदेश सभाको बैठक फेरि स्थगित

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको बागमती प्रदेश सभाको बैठक फेरि स्थगित

नेपालखबर
फागुन ५, २०७७ बुधबार ३:२८,

आज (बुधबार) बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक स्थगन गरिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएयता बैठकको मिति तोकेर स्थगन गरिएको यो दोस्रोपटक हो।

आज दिउँसो २ बजेका लागि बैठक बोलाएका प्रदेश सभामुख सानुकुमार श्रेष्ठले सूचना प्रकाशन गरी बैठक स्थगन गरिएको जानकारी गराएका हुन्।

हिजै टाँसिएकाे सूचनामा बुधबारको मिति रहेको सांसद विशाल खड्काले नेपालखबरलाइ बताए। ‘हिजै राती सूचना टाँसेर बैठक स्थगित गरिएको रहेछ,’ खड्काले भने।

यसअघि गत माघ १९ गतेका लागि तोकिएको बैठक पनि अघिल्लो राति सूचना जारी आज फागुन ५ गतेसम्मका लागि स्थगन गरिएको थियो। 

प्रचण्ड–नेपाल पक्षको दबाबपछि आजका लागि बैठक आह्वान गरेका सभामुख श्रेष्ठले फेरि बैठक स्थगन गरेको सूचना जारी गरेका हुन्।

ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल पक्षले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको हो।

गत माघ ९ गते त्यो प्रस्ताव टेबुल भए पनि छलफल सुरु हुन सकेको छैन।

अविश्वास प्रस्ताव पारित हुन प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले साथ दिनुपर्ने हुन्छ। तर कांग्रेसले अहिलेसम्म आफ्नो कित्ता प्रस्ट पारेको छैन।

बागमती प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ सांसद तथा एक जना स्वतन्त्र सदस्य छन्।

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न दुईतिहाइ बहुमत आवश्यक हुन्छ। अर्थात् प्रदेश सभाका कूल ११० सदस्यमध्ये ५६ सांसदले मत दिनुपर्ने हुन्छ। हाल प्रचण्ड–नेपाल पक्षसँग ४५ सांसद छन्। अब थप ११ सांसदको मत आवश्यक छ।

यस्तै यसको उल्टो मुख्यमन्त्री पौडेललाई आफ्नो सरकार जोगाउन थप ५६ सांसदको साथ आवश्यक छ। किनकि उनका पक्षमा अहिले ३५ प्रदेश सांसद मात्र छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गराएलगत्तै सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजित छ। ओली पक्ष सरकारको प्रतिरक्षामा छ भने प्रचण्ड–नेपाल समूह ओलीको कदमविरुद्ध आन्दोलनरत छ। त्यसैको असर प्रदेश सभाहरूमा पनि परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .