विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राज्य सञ्चालन र नागरिकको अपेक्षा र आवश्यकता पूरा गर्न तीन वर्षमा पूर्णतः असफल भएको टिप्पणी गरेका छन्।
पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध रत्नपार्क शान्ति वाटिकामा सोमबारदेखि सुरु गरेको १० दिने प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक पाण्डेले सरकार गठनका तीन वर्षमा ओलीले पटक–पटक चिट चोर्दा, सेन्टर कब्जा गर्दा र आफैँ कापी जाँच्दा समेत पूर्णतः असफल भएको जिकिर गरे।
उनले प्रधानमन्त्री ओलीलाई स्ट्यान्डप कमेडियन हुनु र प्रधानमन्त्री बन्नुमा फरक रहेको भन्दै व्यंग्य गरे। हजुरबुबाले ल्याएको प्रजातन्त्र, बाले ल्याएको लोकतन्त्र अनि काकाले ल्याएको गणतन्त्र जोगाउन आफ्नो पुस्ता र आफ्नो पार्टी सक्षम रहेको उनले प्रस्ट पारे।
विरोध सभामा बाग्मती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले पुरातनवादी राजनीतिक संस्कार सुधार गर्न विवेकशील साझा पार्टी प्रतिबद्ध भएर लागेको भन्दै सबै कार्यकर्ता र शुभचिन्तकलाई हौसला कायम राख्न आग्रह गरे।
सो कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य रजनी केसीले केपी ओलीको निरङ्कुशता र प्रतिगमनतर्फको यात्राका विरुद्ध आफूहरू लगातार संघर्षमा क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरिन्।
साझाको अभियान विभागले प्रतिगमनविरुद्ध प्रतिरोध अभियान आयोजना गरेको हो। अभियान दश दिनसम्म दैनिक साँझ ४ बजे रत्नपार्कको शान्ति वाटिकामा आयोजना हुने पार्टीका अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले बताए।

प्रतिक्रिया