राजनीति


माधव नेपालले प्रचण्डको मुंग्रो समाएर केपी ओलीमाथि हान्न खोजे : उपप्रधानमन्त्री पोखरेल

माधव नेपालले प्रचण्डको मुंग्रो समाएर केपी ओलीमाथि हान्न खोजे : उपप्रधानमन्त्री पोखरेल

वाशुदेव मिश्र
फागुन २, २०७७ आइतबार १५:५३,

विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन गरेको जिकिर गर्दै पोखरेलले प्रचण्ड-माधव निर्वाचन नगराउन लागिपरेको आरोप लगाए।

‘प्रचन्ड र माधव नेपाल निर्वाचन आयोगमा गएर थर्काउँदै चुनाव गराउन पाइँदैन भन्दै थर्काउनुहुन्छ’, पोखरामा आइतबार आयोजित ओलीपक्षीय प्रेस संगठनको प्रदेश भेलामा पोखरेलले भने, ‘जनताको ताजा जनादेशका लागि जाने कुरा कुनै पनि हालतमा असंवैधानिक र अलोकतान्त्रिक हुँदैन।’

उनले माधव-प्रचण्डको सत्ता तृष्णाको मनोरोगका कारण संसद विघटन गर्नुपरेको स्पष्टिकरण दिए।

उपप्रधानमन्त्री पोखरेलले तत्कालीन माओवादीको राजनीति सकिएको बेला एमालेको शरणमा आएको दाबी गर्दै भने,‘माओवादीको पोलिटिक्स सकिएकोथ्यो। उहाँहरू पावरबाट बाहिर हुनुहुन्थ्यो। मानवताविरोधी कार्यका लागि टाउकोमा तरवार थियो। त्योबाट छुटकारा पाउन पार्टी एकता गर्नुभयो।’

उनले पार्टी नेता माधव नेपालले पनि प्रचण्डको मुंग्रो समाएर केपी विरोधी काम गरेको आरोप लगाए।

‘टू इन वान भएर ओल्टेकोल्टे हुन पाइँदैन।’

पत्रकारलाई गाली र शिक्षा

पोखरेलले पार्टीनिकट पत्रकारलाई पार्टी र पेशा दुबैमा प्रतिबद्ध भएर लाग्न सुझाव दिए।

‘पत्रकारले आफ्नो पेशागत दक्षता भने प्रदर्शन गर्नैपर्छ। दक्षता भएन भने अघि बढ्न सकिँदैन। विचारको पनि स्पष्टता हुन जरुरी छ,’ पोखरेलले भने, ‘पेशागत दक्षता नभए पनि पार्टीमा लाग्छु भन्ने सोच्नु हुँदैन।’

पोखरेलले त्यसो भनिरहँदा प्रेस संगठनको नाममा भेला भएका गैरपत्रकारहरुले भने मुखामुख गरिरहेका थिए। भेलामा संगठनको नेता भएर सहभागी भएका अधिकांश गैरपत्रकार थिए।

आफू निकटका पत्रकारलाई शिक्षा दिइरहँदा उनले व्यावसायिक पत्रकारिता र पत्रकारलाई दलाल र अपराधिको आक्षेप पनि लगाउन भ्याए।

व्यावसायिक संचार माध्यममा काम गर्ने पत्रकारलाई उनले भने,‘ती कर्पोरेट मिडियामा काम गर्ने दलालहरु। कर्पोरेट मिडियाका अपराधपूण कुराहरु हेर्नुभाछ कि छैन? गलत कुराहरु हाकाहाकी, के नाम लिनु बुझिहाल्नुहुन्छ। ती कर्पोरेट मिडियाका दलालहरु। ती दलालहरुको दैनिक सम्प्रेशण गरेका समाचार तपाई हेर्नुस् त। गलत कुराहरु फत्तुर लगाएर उल्टा कुराहरु जनतालाई विशाक्त बनाउने हिसाबले सम्प्रेषण गरेका छन्। ती कर्पोरेट मिडियाका ति अपराधपूर्ण कुराहरुको विरोधमा उठ्नैपर्छ।’

उनले संगठनमा आवद्ध पत्रकारले व्यावसायिक पत्रकारिताको प्रतिवाद गर्न आह्वान गरे।

‘प्रेस संगठन नेपालले संगठित ढंगले त्यसको प्रतिवाद गर्नुपर्छ, नत्र भने जनतालार्य गलत सूचना दिएर, जनतालाई भ्रममा पारेर सही कुरालाई कमजोर बनाउने जुन अपराधपूर्ण क्रियाकलाप हुँदैछ’, उनले भने, ‘यसका विरुद्धमा खबरदारी गर्न जरुरी छ।’

पोखरेलले कार्य दक्षता भएर पनि विचारमा स्पष्टता भएन भने अन्तिममा ‘नागरिक समाजको अगुवा’ भइने आरोप लगाए।

‘धेरैलाई देखेको छु। कार्य दक्षता भएर अग्रज भएका छन्। तर, अन्तिममा विचार खुइलिँदै गएर उनीहरु नागरिक समाजमा परिणत भएका छन्,’ उनले भने, ‘विचार र दक्षतासहित अघि बढिसकेपछि ओल्टेकोल्टे हुनै पाइँदैन।’

पार्टीका सहइन्चार्ज तथा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री किरण गुरुङले संसदीय व्यवस्था अगालेका मुलुकमा संसद विघटन प्रधानमन्त्रीको आफ्नो अधिकार भएको बताउँदै सर्वाेच्च अदालतले त्यसलाई स्वीकार गर्ने बताए।

प्रदेश संयोजक सुष्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेता खगराज अधिकारी, प्रेस संगठनका संयोजक गणेश वस्नेत, नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, विद्रोही गिरीलगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .