ad ad

राजनीति


किन प्रचण्ड–नेपाल र ओलीतिर ओहोरदोहोर गर्दैछन् नेकपाका दर्जनौं यी नेता?

किन प्रचण्ड–नेपाल र ओलीतिर ओहोरदोहोर गर्दैछन् नेकपाका दर्जनौं यी नेता?

मणि दाहाल
फागुन २, २०७७ आइतबार १५:२३,

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन भएसँगै पुस ६ गते आफ्नो समूहको केन्द्रीय समितिको सदस्य संख्या बढाएर ११ सय ९९ बनाए। थपिएका केन्द्रीय सदस्यमध्ये एक थिए नेकपा बाराका जिल्ला सचिव तथा प्रदेश सांसद सुन्दर विश्वकर्मा।

लगत्तै विश्वकर्माले ओलीले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरे।

पुस १९ गते प्रदेश नम्बर २ को नेकपा संसदीय दलका बहुमत सदस्यले दलका नेता सत्यनारायण मण्डलमाथि अविश्वास प्रस्ताव राख्यो। प्रमुख सचेतकका रुपमा विश्वकर्माले नै संसदीय दलको बैठक बोलाएका थिए। मण्डल ओलीतर्फका प्रदेश नम्बर दुईका इन्चार्ज हुन्।

तर, सो घटनाको एक महिनापछि माघ २३ मा ओली समूहले राजधानीमा आयोजना गरेको सभामा उनै विश्वकर्मा जुलुससहित सहभागी भए। देख्नेहरुलाई लाग्यो– सुरुमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा लागेका विश्वकर्मा ओली कित्तामा फर्केछन्।

तर, २३ गतेको सभापछि बारा पुग्नेबित्तिकै विश्वकर्माले फेरि रङ फेरे। उनले प्रचण्ड–नेपाल खेमाका नेताहरुलाई फोन गरेर आफू सोही पक्षमा रहेको बताए।

‘त्यसपछि माघ २८ गते राजधानीमा ओलीको प्रतिगमनविरुद्धको प्रदर्शनमा हामी सँगै सहभागी भयौँ,’ बाराका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता पुरुषोत्तम पौडेलले भने।

बारामै संसद् विघटनविरुद्ध नेकपाले पुस ९ गते मसाल जुलुस आयोजना गर्‍यो। जुलुसको नेतृत्वकर्तामध्ये एक थिए उमेश गुप्ता। मसाल जुलुसका क्रममा उनको हातै जलेको थियो। तर, जलेको घाउ निको नहुँदै उनको मन बदलियो। पुस २१ मा फेसबुकमा स्टाटस लेख्दै उनले आफू ओली पक्षमा लागेको जनाउ दिए।

‘आजबाट सम्माननीय प्रधानमन्त्री केपी ओली अध्यक्ष भएको नेकपातिर कित्ता क्लियर गरियो। हिजोसम्म मलाई माया गर्ने सम्पूर्ण मेरा नेता, दाजुभाइ दिदीबहिनी कामरेडहरुको सहयोग साथको आशा गर्दछु,’ उमेश गुप्ताले लेखेका थिए।

पुस ५ गते ओलीले संसद् विघटन गरेपछि दुई चिरा परेको नेकपाका क्याम्प परिवर्तन गर्ने विश्वकर्मा र गुप्ता मात्र होइनन्। पार्टी फुटेपछि थुप्रै नेता–कार्यकर्ता कुन पक्षमा लाग्ने भनेर अलमलिएका छन्। त्यसैले उनीहरु दुवै समूहबीच ओहोरदोहोर गरिरहेका छन्।

त्यसमाथि दुवै समूहले विभिन्न प्रलोभन दिएर नेताकार्यकर्तालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन्। कार्यकर्ताहरु पनि ‘जता मल्कु, उतै ढल्कु’ भनेझैँ आफूलाई फाइदा हुने पक्षमा लागिरहेका छन्। उदाहरणका लागि बाराका गुप्ता प्रचण्ड–नेपाल छाडेर ओली पक्षमा खुल्नेबित्तिकै भूमिसुधार मन्त्रालयले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगमा बारा जिल्लाको विज्ञ सदस्यमा नियुक्त भएका छन्।

विश्वकर्माले आफू मात्रै नभएर देशभरमै यस्तो समस्या रहेको बताए।

‘पार्टी फुटले हामी जस्ता धेरै कार्यकर्ताको मन दुखाएको छ। धेरैलाई निर्णय लिन गाह्रो छ। धेरै नेता तथा कार्यकर्ता बाबु रोज्ने कि आमा रोज्ने भन्ने अवस्थामा छन्,’ विश्वकर्माले भने ‘म संसद् पुनर्स्थापनाको पक्षमा छु। संसद् विघटनको विपक्षमा छु। पुनर्स्थापान भयो भने पार्टी एकता हुन्छ भने विश्वास छ। बीचमा यताउति मात्रै भएको हो।’

विश्वकर्मा लामो समयसम्म माधवकुमार नेपाल निकट थिए। २०७३ कात्तिक पहिलो साता भएको पार्टीको नवौँ जिल्ला सम्मेलनमा ओली समूहका रविनदास श्रेष्ठलाई पराजित गर्दै विश्वकर्मा अध्यक्ष बनेका थिए।

नेपाल समूहमै लामो समय रहेका खोटाङका सचिव राम दंगालले पनि सुरुमा ओली पक्षको केन्द्रीय सदस्य अस्वीकार गरेका थिए। तर, केही समयपछि नै उनी ओली समूहमा खुले र अहिले जिल्ला कमिटीको अध्यक्ष बनेका छन्।

‘मैले अस्वीकार गरेको होइन। धेरै स्थानमा किन बस्ने भनेर हो। त्यस समयमा जिल्ला सचिव र प्रदेशको सदस्य थिएँ,’ दंगालले नेपालखबरसँग भने, ‘अहिले कमिटीको अध्यक्ष भएको छु। केन्द्रीय सदस्यको सपथग्रहण गरेको छैन।’

केही समयअघिसम्म केन्द्रीय नेताहरु यसैगरी दुई समूहबीच ओहोदोहोर गरिरहेका थिए। अहिले यो क्रम प्रदेश, जिल्ला र गाउँमा पुगेको छ। कार्यकर्ता तान्न केन्द्रका नेताहरु जिल्ला दौडाहामा छन्।

प्रदेश एकको स्थिति पनि त्यस्तै छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने पाँच सांसदले पछि आफ्नो नाम फिर्ता लिएका छन्। उदयपुरकी कला घले, मोरङकी वसन्तीदेवी यादव, झापाका गोपाल बुढाथोकी, जयमाया गजमेर र श्रीप्रसाद मैनालीले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन्।

पुस १९ गते अविश्वास प्रस्ताव दर्ता गर्दा गजमेरले मन्त्रीबाट राजीनामा दिएर त्यसमा हस्ताक्षर गरेकी थिइन्।

अदलाबदलीको यो क्रम बागमती प्रदेशमा पनि देखिएको छ। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव आउँदा हस्ताक्षर गरेका ४५ जनामध्ये प्रकाश श्रेष्ठ र कृष्ण भूर्तेलले समूह बदले। अर्कोतिर डा. रामकुमार अधिकारी र बसुन्धरा हुमागाईं प्रचण्ड–नेपालतर्फ लागेका छन्।

‘पार्टी विभाजनको समयमा नेता तथा कार्यकर्ता यताउति हुन्छन् नै। यो अब विस्तारै थिग्रिंदै गएको छ,’ प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटीका सदस्य बेदुराम भुसालले भने।

कतिपय जिल्ला तहका नेताहरु विभाजनपछि कतै पनि नलाग्ने भन्दै बसेका थिए। तर ध्रुवीकरण तीव्र हुँदै जाँदा कित्ता क्लियर गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ।

‘विभाजनपछि कतै नगई बस्ने विचार थियो। तर निष्क्रिय बस्न मनले पनि मान्ने रहेनछ,’ भक्तपुर नेकपा जिल्ला कमिटीका सदस्य सुजन न्यौपानेले भने, ‘केही समय कतै नलागी बसेँ। तर, अहिलेको घटनाक्रम हेर्दा जुन रुपमा असंवैधानिक कदम चालियो त्यसको समर्थन गरेर बस्ने अवस्था भएन। त्यसैले प्रचण्ड–माधव समूहमा लागेँ।’

प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका केही केन्द्रीय सदस्यहरु कित्ता परिवर्तन गर्दै ओलीको साथमा गएका थिए। तिनीहरुमध्ये थुप्रै मन्त्री बनेका छन्। सहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गैरीशंकर चौधरी, युवा तथा खेलकुदमन्त्री दावा लामा त्यसै अन्तर्गत गर्दछन्। त्यसैगरी केन्द्रीय सदस्यहरु दधिराम न्यौपाने र गिरिधारीलाल न्यौपाने प्रचण्ड–नेपाल समूह छाडेर ओलीतर्फ लागेका छन्।

‘पहिलेको अवस्था तरल थियो। अहिले तल्लो तहमा नेताहरु पुग्नु भएको छ। भ्रम चिरिँदै गएको छ र अर्को पक्षमा रहेका नेता तथा कार्यकर्ताहरु फर्किंदै हुनुहुन्छ,’ ओली नेतृत्वका स्थायी कमिटीका सदस्य छविलाल विश्वकर्माले भने।

यहीबीचमा ओलीतर्फ रहेका एक दर्जन केन्द्रीय सदस्य भने प्रचण्ड–नेपालतर्फ पुगेका छन्। मुकुन्द न्यौपाने, प्रदीप नेपाल, केदार न्यौपाने, बलराम बास्कोटा, सावित्रा भुसाल, शारदा सुवेदी, धर्मनाथप्रसाद साह, रामप्रीत पासवान, श्रीप्रसाद साह, विक्रम शाही, देउमान सम्बाहाम्फे सहितका केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपालतर्फ लागेका हुन्।

नेपालको समूहबाट नवौँ महाधिवेशनमा चुनाव लडेर जितेकी सुशीला नेपाल भने पछिल्लो समयमा ओलीतर्फ खुलेकी छन्।

‘अहिले यताउति हुने क्रम केही थामिएको छ। अब निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसलापछि एक पटक फेरि दल बदल्ने लहर चल्ने सम्भावना छ,’ केन्द्रीय सदस्य श्रीप्रसाद साहले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .