राजनीति


दसैं लगत्तै हुनसक्छ सीको ‘सप्राइज’ भ्रमण

दसैं लगत्तै हुनसक्छ सीको ‘सप्राइज’ भ्रमण

चन्द्रलाल गिरी
साउन २३, २०७६ बिहिबार ५:१३,

चीनका राष्ट्रपति सी चिनफिङ दसैं लगत्तै नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ। 

चीनका राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अक्टोबर १२ (असोज २५ गते) मा उत्तर प्रदेशको बनारसमा भेटावार्ता तय गरिएको छ। भारत भ्रमणपछि सीले छोटो समयका लागि नेपाल भ्रमण गर्ने तय भएको स्रोतहरूले जनाएका छन्। 

दुई वर्ष पहिलेजस्तो अन्तिम समयमा भ्रमण रद्द भएन भने यसपाली सी नेपाल आउने निश्चित छ। २३ वर्षपछि चीनका राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हुनेछ।

काठमाडौं र बेइजिङस्थित स्रोतहरूले राष्ट्रपति सीको भ्रमण तय भएको र तयारी पनि सुरु भैसकेको जनाए पनि मिति भने यकिन गर्न चाहेका छैनन्। तयारीमा संलग्न अधिकारीहरू नै भ्रमणको मिति यकिन नभएकाले ‘सरप्राइज’ भ्रमण हुनसक्ने बताउँछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू सीको भारत र नेपाल भ्रमण एकैपटक हुन सक्ने संकेत अनुसार तयारीमा जुटेका छन्।

अहिलेसम्मको तयारी अनुसार अक्टोबर १२ मा बनारसमा मोदीसँग अनौपचारिक वार्ता गर्न सी पहिला भारत भ्रमणमा जानेछन्। दुई नेताबीच हुने यो वार्तालाई सन् २०१८ मा चीनको वुहानमा भएको शान्ति वार्ताको दोस्रो संस्करण अर्थात वुहान–२ नाम दिइएको छ।

बनारसपछि राष्ट्रपति सी नेपाल हुँदै चीन फर्कने तयारी हुँदैछ। भारतपछि नेपाल आउँदा १४–१५ अक्टोबर (असोज २७–२८ गते) तिर सी काठमाडौं उत्रनेछन्। भारत भ्रमणअघि नेपाल भ्रमण भयो भने १०–११ अक्टोबर (असोज २३–२४ गते) हुन सक्नेछ। भारत भ्रमण सरेन र लगत्तैपछि वा अघि नेपाल भ्रमण आयोजना गरियो भने सी १०–१६ अक्टोबर (२३–२९ असोज) भित्र नेपाल आउने करिब निश्चित छ।

असोज १८–२२ गते दसैं बिदा पर्छ। बेइजिङले राष्ट्रपति सीको नेपाल भ्रमणका लागि यो मितिलाई प्रथमिकतामा राख्नुको पहिलो कारण हो, भारत भ्रमण लगत्तै नेपालको भ्रमण गर्ने। दोस्रो, जहाज उडान र अवतरण गर्न सहज हुने गरि सफा मौसम हुने समयको छनोट र तेस्रो सुरक्षा सुनिश्चितता।

दसैंमा काठमाडौंका धेरै मानिस राजधानी बाहिर घर गएको बेला पर्छ। त्यो बेला सुरक्षाका दृष्टिले सहज समय हुने सुरक्षा विज्ञहरूको विश्लेषण छ।

‘दसैंको बेला अधिकांश मानिस चाडबाडमा रमाइरहेका हुन्छन्’, चिनियाँ राष्ट्रपति सीको भ्रमणमा सुरक्षा व्यवस्थाबारे आँकलन गरिरहेका एक जना सुरक्षा विज्ञ भन्छन्, ‘अर्को, कसैले विरोध प्रदर्शन नै गरेपनि भिडभाड कम हुने समयमा नियन्त्रण गर्न सहज हुने भएकाले उच्च भ्रमणका लागि यो उपयुक्त समय हो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई सुरक्षा विज्ञहरूका अनुसार दसैंको बेला वर्षायाम सकिएसँगै मौसम सफा हुन्छ र जहाज उडान अवतरणमा कुनै समस्या हुँदैन।

चीनका राष्ट्रपति सीको यो दोस्रो कार्यकाल हो। उनी पहिलो कार्यकालमै नेपाल भ्रमणमा आउने तयारी भएपनि अन्तिम समयमा रद्द भएको थियो। चीनसँग सीमा जोडिएका १४ छिमेकी देशमध्ये दक्षिण एशियामा नेपाल मात्रै राष्ट्रपति सीले भ्रमण गर्न बाँकी मुलुक हो।

भुटानसँग चीनको कुटनीतिक सम्बन्ध नभएकाले राष्ट्रपतिको भ्रमणको संभावना छैन। बाँकी सबै दक्षिण एसियाली देशमा सीले भ्रमण गरिसकेका छन्।

पहिलो कार्यकालमै विश्वका करिब ६० देशको भ्रमण गरिसकेका सीलाई रणनीतिक रुपमा महत्वपूर्ण मानिने नेपालको भ्रमण गर्नुपर्ने दबाब बेइजिङमै पनि छ। त्यसैले बेइजिङले संभवतः नेकपाको दुई तिहाई बहुमतको बलियो सरकार भएको समय छनोट गरी अहिले राष्ट्रपति सीको नेपाल भ्रमण आयोजना गर्ने तयारी गरेको हो।

यदि कस्मिर मुद्दा चर्किंदै गएर भारत–चीन सम्बन्ध चिसियो वा भारत–पाकिस्तान तनाव बढ्यो भने सीको भारत भ्रमण रद्द हुनपनि सक्छ। भारत भ्रमण रद्द भयो भने नेपाल भ्रमण के हुनसक्ला भन्ने प्रश्न पनि छ।

XiJinping2

काठमाडौंमा भ्रमणको तयारी
काठमाडौंमा राष्ट्रपति सीकोे भ्रमणको तयारी सुरु भइसकको छ। गत जुलाई ६ (असार २१ गते) निर्वासित तिब्बती शरणार्थीका धर्मगुरु दलाई लामाको जन्मोत्सव काठमाडौंमा मनाउन नेपाल सरकारले रोक लगायो।

सोही समयमा जुलाई १–३ मा विश्व आर्थिक मञ्चमा भाग लिन चीनको दालियन पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली बेइजिङमा राजनीतिक भेटवार्तामा व्यस्त भए। उनी बेइजिङमै रहेको बेला काठमाडौंमा दलाई लामाको जन्मोत्सव मनाउन रोक लगाउने निर्णय नेपाल सरकारले गरेको गृहमन्त्रालयका एक अधिकारीले बताए।

विश्व आर्थिक मञ्चमा नेपालको भूमिका खासै नभएको अवस्थामा मन्त्री ज्ञावालीको चीन भ्रमणलाई सीको नेपाल भ्रमण गराउने तयारीका रुपमा हेरियो। ज्ञावालीले राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी भइरहेको घुमाउरो शैलीमा स्वीकार गरे। अघिल्लो साता एक कार्यक्रममा भेटिएका उनले नेपालखबरसँग यति मात्रै भने, ‘अहिले भ्रमणको तयारी उल्लेख गर्नुपर्ने अवस्थामा पुगिसकेको छैन।’

संसदको वर्षे अधिवेशन सकिएपछि, संभवतः भदौ दोस्रो साता गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा जानेछन्। त्यसअघि चिनियाँ सुरक्षा अधिकारीहरूको एउटा टोली नेपाल आउँदैछ।

राष्ट्रपति सीको भ्रमणअघि चीनका विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयसम्वद्ध स्रोतहरूले जनाएका छन्।

विश्वका केही शक्तिशाली नेतामध्येका सीको भ्रमणले नेपालमा ठूलो महत्व र अर्थ राख्छ। नेपालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पभन्दा सीलाई सुरक्षा चुनौती बढी रहेको सुरक्षा विज्ञहरूको बुझाइ छ।

‘तिब्बती शरणार्थीले गर्न सक्ने प्रर्दशन वा आत्मदाहका घटना चीनका लागि सबभन्दा सम्वेदनशील कुरा हो’, नेपाली सेनाका एक जना मेजर जनरल भन्छन्।

चीनले जहिले पनि नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासमा चासो राख्दै आएको छ। यसअघि राजनीतिक स्थिरता नहुँदा नेपाललाई चीनका राष्ट्रपतिको भ्रमण आयोजना गर्न सहज थिएन।

अहिले पनि सरकार वा मुख्य मुख्य मन्त्रीहरूको परिवर्तन हुने अवस्था आयो भने भ्रमण प्रभावित हुन सक्नेछ। त्यस्तै राजनीतिक आन्दोलन वा तिब्बती शरणार्थीहरूले प्रदर्शन गरे भने पनि राष्ट्रपति सीको भ्रमण प्रभावित हुनेछ। भ्रमण सुनिश्चित गर्न पहिला सुरक्षा व्यवस्था सुनिश्चित हुनु पर्नेछ।

अहिलेसम्म दुई जना मात्र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका छन्। राष्ट्रपति ली स्यान न्याँन सन १९८४ मार्च २० मा नेपाल आएका थिए। त्यसको १२ वर्षपछि सन् १९९६ डिसेम्बर ४ र ५ मा राष्ट्रपति ज्याङ जमिनले नेपाल भ्रमण गरेका थिए।

त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण नगरेको २३ वर्ष पुगिसकेको छ।

नेपालमा चीनका प्रधानमन्त्रीहरुको भ्रमण भने बाक्लै हुने गरेको छ। चाउ एनलाईले सन् १९५७ जनवरीमा पहिलो पटक नेपाल भ्रमण गरेयता चार जना चिनियाँ प्रधानमन्त्रीले नेपाल भ्रमण गरिसकेका छन्।

प्रधानमन्त्री वेन जियाबाओले १४ जनवरी २०१२ मा पाँच घण्टाका लागि नेपालको ट्रान्जिट भ्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad