राजनीति


रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा

नेपालखबर
माघ २९, २०७७ बिहिबार ५:१५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको छ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी बिहीबार बिहान शंखमूलस्थित उनको निवास पुगेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उक्त विघटनलाई तत्काल अनुमोदन गर्ने राष्ट्रपति र सो कदमको समर्थन गर्नेप्रति झाँक्रीले कडा आलोचना गर्दै आएकी छन्।

उनले केही दिनपहिले गोर्खामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन्।

अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको बताए।

‘हामीले बोलाइसकेका छौं तर उहाँ आउनुभएको छैन,’ एसएसपी थापाले भने, ‘पक्राउ नै गर्ने चाहिँ अहिले नभनौं।’

एक प्रहरी अधिकृतका अनुसार झाँक्रीलाई पक्राउ गरी राष्ट्रपतिविरुद्ध बोल्दिनँ भनी कागज गराएर छाड्ने तयारी गरिएको छ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले उनीविरुद्ध लिखित उजुरी नपरेको बताए। ‘सामाजिक सञ्जालमा यो विषय उठेको छ,’ उनले भने।

प्रहरीले अहिले त्यहाँको माहोल हेरेर कदम चाल्ने तयारी गरेको एक प्रहरीले जनाए।

उनले राष्ट्रपति भण्डारीलाई सो पदमा रहेर राजनीति नगर्न र सक्रिय राजनीति गर्ने भए सो पद, सुविधा र अधिकार त्यागेर कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गरेकी थिइन्।

उनले राष्ट्रपति कुनै एउटा पार्टी, गुट वा समूहको पक्षमा नलाग्न आग्रह गरेकी छन्।

उनले बुधबार राजधानीमा आयोजित विरोध सभामा पनि उनले कुनै सम्मानित संस्थाविरुद्ध नभई व्यक्तिको प्रवृत्तिविरुद्ध बोलेको र त्यसो गर्न अहिलेको व्यवस्थाले नरोक्ने बताएकी थिइन्।

रामकुमारी झाँक्रीले हिजो माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा यस्तो अभिव्यक्ति दिएकी थिइन्।

भिडियो :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad