प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्टा पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्को प्रश्न उठाएका छन्।
नेकपा विभाजनपछि ओली–प्रचण्ड एक अर्काविरुद्ध आरोप–प्रत्यारोप गर्दै आइरहेका छन्।
अध्यक्ष प्रचण्डले मंगलबार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओली कम्युनिस्ट पार्टीको अध्यक्ष हुन् कि हिन्दु महासंघको अध्यक्ष भन्ने प्रश्न उठाएका हुन्।
प्रधानमन्त्री ओलीको पछिल्ले धार्मिक भ्रमण र चितवन पुगेर अयोध्यापुरीका विषयमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले यस्तो प्रश्न गरेका हुन्। उनले दरबारसँग ओलीको पुरानो सम्बन्ध रहेको र सोही कारण आमसभाका लागि नारायणहिटी अगाडिको स्थान छानेको बताए।
उनले ओलीले पशुपति गएर दीप प्रज्वलन गरेको सरकारका तर्फबाट ३० करोड दिएर सुनको जलप लगाउन लगाएको भन्दै प्रश्न उठाएका हुन्।
‘मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ, राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ’, प्रचण्डले भने, ‘यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि। नेपाली जनताले प्रश्न उठाएका छन्। केपीजी भनेको के हो? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो?’
उनले ओलीले सरकारका तर्फबाट पुरातात्विक अन्वेषण गर्ने, प्रमाणित गर्ने गुर्नुपर्नेमा ओलीले राजनीतिक स्टन्ट मात्रै गरेको आरोप लगाए।
उनले रामको जन्मभूमि नेपालको अयोध्यापुरी प्रमाणित भए आफू सबैभन्दा बढी खुसी हुने बताए।
‘नेपालमा अयोध्या पुष्टि हुन्छ भने मभन्दा बढी खुशी अरु कोही हुँदैन’, प्रचण्डले भने, ‘ओलीले सरकार तर्फबाट पुरातात्विकरुपमा पुष्टि गर्न सिन्को नभाँच्ने तर स्टन्ट गर्ने गरिरहेका छन्।’
उनले ओली पहिले पनि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा रहेको अहिले पनि उनी नबद्लिएको बताए।
उनले आफूहरुले धार्मिक स्वतन्त्रताको कुरा गरेको र जनताको धार्मिक आस्थालाई सम्मान गर्ने बताए।
Shares

प्रतिक्रिया